धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजरसँगै पुरिएका ३ जनाको अवस्था अझै अज्ञात छ । बिहिबार विहान डोजरमा सवार चालकसहित ३ जना बेपत्ता भएका थिए । बेपत्ताहरुको खोजीका लागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।बिहीबार पहिरोको केही भाग पन्छाएको र शुक्रबार पनि खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) जागेश्वर भण्डारीले बताए । पहिरोका कारण बाटो बनाउँदै गरेको ठाउँबाट डोजर करिब १ सय मिटर तल झरेको छ ।बेपत्ताहरू डोजरसँगै पुरिएका छन् वा अन्यत्र पुरिएका छन् भन्ने यकिन हुन सकेको छैन । स्थानीयका अनुसार डोजरसँगै चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ पुरिएका छन् ।