काठमाडौँ । कोरोनाको जोखिम बढ्न थालेपछि काठमाडौँ उपत्यकामा सतर्कता र पूर्व तयारीबारे छलफल गर्न ललितपुर र भक्तपुरमा सर्वपक्षीय बैठक बस्ने भएको छ । जिल्लामा गर्नुपर्ने तयारीबारे छलफल गर्न ललितपुर र भक्तपुरमा आज छुट्टाछुट्टै छलफल गर्न लागिएको हो ।
यी छलफल पछि तीनवटै प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बसेर आवश्यक निर्णय लिइने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । आज जिल्लाका राजनीतिक दलका नेता, जनप्रतिनिधि, सुरक्षा अधिकारी, नागरिक समाज, पत्रकार, गैरसरकारी संस्थाका प्रतिनिधि लगायतसँग परामर्श लिन लागेको र यसका लागि दिउँसो दुई बजे जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बैठक बोलाइएको उनले जानकारी दिइन् ।
प्रजिअ शर्माले कोरोना संक्रमणको अवस्थाका साथै विपद् र भूकम्प सुरक्षा दिवससम्बन्धी एजेण्डासहित बैठक बस्न लागेको जानकारी दिइन् । कोरोनाको संक्रमण बढ्दै गएपछि दुई दिनअघि सीसीएमसीको बैठक बसेको थियो ।
ललितपुरमा पनि दिउँसो साढे २ बजे सर्वपक्षीय बैठक बोलाइएको हो । ललितपुरमा पनि दिउँसो साढे २ बजे सर्वपक्षीय बैठक बस्ने र विविध पक्षको सुझाव लिने तयारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसपछि भोलिसम्ममा संयुक्त बैठक बसेर आवश्यक छलफल गर्ने तयारी गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् ।