काठमाडौंमा हाम्रो अपेक्षाभन्दा बढी बिजुलीको माग आएकाले समस्या भयो: कुलमान

 संवाददाता    २०७८, १६ पुष शुक्रबार १४:४४     316 जनाले पढ़िसके



Spread the love

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकामा आफूहरूले अपेक्षा गरेभन्दा बढी बिजुलीको माग आएको बताएका छन्।

शुक्रबार विद्युत प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले माग बढेपछि काठमाडौंको वितरण प्रणालीमा केही ठाउँमा समस्या देखिएको स्वीकारे।

उनका अनुसार काठमाडौंमा अहिले पिक आवरमा झन्डै ५ सय मेगावाट बिजुलीको माग छ। जुन पोहोर सालको भन्दा ८० मेगावाट बढी हो।

‘माग बढेपछि हाम्रा फिडर लाइन र ट्रान्सफर्मरहरू ओभरलोडेड भएका छन्,’ घिसिङले भने,‘उपत्यकाभरि झन्डै ३८ सय ट्रान्सफर्मर छन्। तीमध्ये ५०-६० वटामा समस्या आएको हो।’

उपत्यकामा अहिले धेरैजसो ट्रान्सफर्मर २०० केभिएका छन्। लोड बढेपछि उक्त ठाउँमा ३ सय केभिएको ट्रान्सफर्मर राखिन्छ।

३ सय केभिएकोले पनि पुगेन भने अर्को ट्रान्सफर्मर थप्नुपर्छ,’ घिसिङले भने,‘स्थानीयले आफ्नो घरनजिक राख्न दिँदैनन्। त्यसले समस्या भएको छ।’

उनले काठमाडौंका केही ठाउँमा बिजुलीको माग आफूहरूले अपेक्षा गरेभन्दा बढी भएको बताए।

‘तपाईंहरू धेरै बिजुली नबाल्नुस् म भन्दिनँ। माग बढ्नु हाम्रा लागि धेरै राम्रो कुरा हो,’ घिसिङले भने।

उनले विगत दुई-तीन दिनमा काठमाडौं उपत्यकाका विद्युत वितरण नियमित गर्न नसकेकोमा क्षमा पनि मागे।

‘यो समस्यलाई हामीले अवसरका रूपमा पनि लिएका छौं,’ घिसिङले भने,‘यसले हामीलाई कस्ता पूर्वाधार बनाउनुपर्छ भने शिक्षा दिएको छ।’

यसअघि पनि काठमाडौं उपत्यकामा २ हजार बढी मेगावाटको आपूर्ति धान्ने गरी संरचना बनाउने काम भइरहेको उनले बताए।

‘काठमाडौंका ९ स्थानमा सबस्टेशन बनाउँदैछौं। तारहरू भूमिगत गर्दैछौं,’ घिसिङले भने,‘काठमाडौंको विद्युत वितरण भरपर्दो हुन डेढ-दुई वर्ष लाग्न सक्छ।’

उनले काठमाडौं उपत्यकाको हिउँदको बिजुलीको माग अझै ‘फिक्स’ नभएको बताए।

‘अहिले मानिसहरूले हिटर, इन्डक्सन चुल्हो, एसी किनिरहेका छन्। यो क्रम बढ्दो छ। काठमाडौंमा मागको ट्रेन्ड अझै फिक्स भएको छैन,’ घिसिङले भने,‘काठमाडौंको माग फिक्स हुने बेलासम्म हाम्रा पूर्वाधारहरू पनि तयार भइसक्छन्।’