मेडिकल स्टोरमा निसास्सिएर एकै परिवारका ४ जनाको मृत्यु

 संवाददाता    २०७८, १५ पुष बिहीबार १३:००     97 जनाले पढ़िसके



Spread the love

नेपालगंज , कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय अन्तरगतको नेपालगञ्ज मेडिकल स्टोर (आपूर्ति शाखा)मा एकै परिवारका चारजनाको मृत्यु भएको छ । मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी धर्मप्रसाद भट्टराईसहित उनको परिवारका अन्य तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनप्रसादसहित उनका तीन महिनाका छोरा ईप्सन भट्टराई, ४५ वर्षीया आमा कोकिला भट्टराई र २७ वर्षीया दिदी नन्दकली भट्टराई रहेकाे बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिए ।

कालिकोटको खडाचक्र नगरपालिका-६ पिलीका भट्टराई परिवारसहित मेडिकल स्टोरको आवास गृहमा बस्दै आएका थिए । कोठामा ग्यास पोइजन भएर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

‘बन्द कोठाभित्र टिनको बाकसमा कोइला बालेको भेटिएको थियो’ प्रहरी निरीक्षक घर्तीमगरले भने, ‘आगो ताप्ने क्रममा बन्द कोठा भएकोले ग्यास पोइजन भई मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

साथै, परिवारका ७ जनामध्ये श्रीमती सुशीला भट्टराई, छोरा विवश भट्टराई र भाइ नरेन्द्र भट्टराई घाइते अवस्थामा रहेका छन् । उनीहरू नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।