भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जेनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा परेर निधन भएको छ। भारतीय वायुसेनाले ट्वीट गर्दै उनको निधनको आधिकारिक जानकारी दिएको हो।https://twitter.com/IAF_MCC/status/1468559355868028936?s=20
भारतीय सेनाका पूर्वप्रमुखसमेत रहेका रावत चढेको हेलिकप्टर बुधबार तमिलनाडु राज्यको कुनुरमा दुर्घटना भएको थियो। दुर्घटना परि विपिन रावत, उनकी पत्नी र सशस्त्र बलका अन्य जवानसहित १३ जनाको मृत्यु भएको छ।
रावत यसअघि भारतीय सेनाका प्रमुख थिए। उनीपछि मनोजमुकुन्द नरवाणे सेना प्रमुख भएका छन्। रावत अहिले भारतको चिफ अफ डिफेन्स स्टाफ थिए। यो पद केही महिना अघिमात्रै सिर्जना गरिएको हो। पहिलो चिफ अफ डिफेन्स स्टाफको रूपमा रावतले २०२० जनवरीदेखि काम थालेका थिए।
दुर्घटनापछि सामाजिक सञ्जालमा उपलब्ध भिडिओहरूमा हेलिकप्टर पूर्ण क्षतिग्रस्त अवस्थामा रहेको र त्यसका पार्ट पूर्जाबाट धुँवाको मुस्लो र आगो निस्किरहेको देखिएको थियो।