काठमाडौँ । केही दिनयता देशभर चिसो झन् बढेर गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम निरन्तर घटिरहेकोले चिसो बढेको हो ।
आज प्रदेश-१ र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना विभागले जनाएको छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश-१ र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश-१ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
काठमाडौँको आज बिहान साढे ६ बजेको तापक्रम ८.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो २० देखि २२ डिग्री सेल्सियस तापक्रम पुग्ने मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । उनका अनुसार तराईका केही भाग र पहाडी भू-भागका थोरै स्थानमा कुहिरो र तुवाँलो लागेको बिस्तारै हट्दै जानेछ ।