सर्लाही — नेपाली कांग्रेस सर्लाहीमा संस्थापन र इतर पक्षबीच पुनः विवाद भएपछि तेस्रो पटकका लागि तोकिएको वडा अधिवेशन पनि स्थगित भएको छ । यसअघि दुई पटक तोकिएको वडा अधिवेशन शुक्रबार गर्ने सहमति बनेको थियो । तर कृयाशील सदस्यताको विवाद भएपछि अधिवेशन अन्तिम समयमा स्थगित गरिएको हो ।
दुवै पक्षबीच सदस्यता विवाद भएपछि अधिवेशनको अन्तिम समयमा रोक्नु परेको निर्वाचन अधिकृत भरत राउतले बताए । उनका अनुसार विवाद मत्थरका लागि दुवै पक्षबीच छलफल चलिरहेको छ । विवाद मिले शनिबार अधिवेशन हुने उनले जानकारी दिए ।
निर्वाचनको अन्तिम समयमा कतिपय वडामा क्रियाशील सदस्यता नम्बरबिनै मतदाता नामावलीमा सदस्यको नयाँ नाम थपिएको र मतदान अधिकृत खटाउने सवालमा केन्द्रमा भएको सहमतिविपरीत खटाइएको भन्दै इतर पक्षका नेता तथा पूर्वजिल्ला सभापति लक्ष्मण रायले असन्तुष्टि जनाएका थिए । उनले सहमतिविपरीत वर्तमान सभापतिले काम गरिरहेका कारण आफूले विरोध जनाएको बताए । ‘केन्द्रमा भएको सहमति त दुवै पक्षले पालना गर्नुपर्छ, तर वर्तमान सभापतिले सहमति एउटा गर्ने काम अर्को गर्ने गरेकाले विरोध जनाउँदै आएका हौं,’ उनले भने, ‘कार्यान्वयन नहुने सहमतिको अर्थ हुँदैन ।’
जिल्ला सभापति नागेन्द्रकुमार रायले भने भएको सहमतिअनुसार नै निर्वाचन अधिकृतले निर्वाचन प्रक्रिया अगाडि बढाए पनि अर्को पक्षले अनावश्यक बखेडा झिकेको आरोप लगाए । ‘अर्को पक्षले बखेडा मात्र झिकिरहेका छन्, जसले तीन पटक निर्वाचन सरिसकेको छ,’ उनले भने, ‘सहमतिअनुसार पनि निर्वाचनको काम पूरा गर्न दिइरहेका छैनन् ।’
निर्वाचन अधिकृत राउतले दुवै पक्षका प्रतिनिधि राखेर शुक्रबार साँझसम्म सहमतिको प्रयास भइरहेको जनाउँदै शनिबार अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए । उनले सहमति भए समय अभावका कारण फास्ट ट्र्याकबाट निर्वाचन गराउनुपर्ने बताए । ‘वडा तहको निर्वाचनको अब समय छैन, त्यसैले आज दुवै पक्षलाई सहमतिमा ल्याएर शनिबारसम्म वडा अधिवेशनको तयारी गरिरहको छु,’ राउतले भने, ‘निर्वाचन जसरी पनि गराउनै छ, तर समय अभावका कारण फास्ट ट्र्याकबाट जानुपर्ला ।
’वडा निर्वाचनका लागि दुवै पक्षबीच यसअघि पनि निर्वाचन कार्यालय र मतदान अधिकृत खटाउने सवालमा विवाद हुँदा २ निर्वाचन अधिकृत जिल्ला अधिवेशनको प्रक्रिया सुरु नै नगरी फर्किसकेका छन् । पटक–पटक विवाद हुँदा जिल्लामा कांग्रेस अधिवेशन अन्योलमय बनेको छ । अधिवेशन अन्योल हुँदा कार्यकर्ता निराश छन् । कतिपय कार्यकर्ताले जिल्लामा नेतृत्व चयन नहुँदा महाधिवेशनमा सर्लाहीले भाग लिन पाउने–नपाउनेमा संशय व्यक्त गरिरहेका छन् । आजको कान्तिपुरले लेखेको छ