गुन्डानाइके अभिषेक गिरीको फेरि विराटनगर सरुवा, प्रवेश नदिने कैदीबन्दीको चेतावनी

 संवाददाता    २०७८, ४ मंसिर शनिबार ०६:५५     92 जनाले पढ़िसके



Spread the love

अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका गुन्डानाइके अभिषेक गिरीको फेरि विराटनगर सरुवा भएको छ । २०७८ कात्तिक १६ गते डिल्लीबजार कारागारबाट मोरङ ल्याइएका गिरीलाई कैदीबन्दीको अवरोधपछि जिल्ला कारागार सप्तरी पठाइएको थियो । सप्तरी पठाएकाे १६ दिनपछि उनको विराटनगर सरुवा भएको हो ।

जिल्ला कारागार मोरङका निमित्त जेलर रामप्रसाद पोखरेलले गिरीलाई मोरङ पठाउने निर्णय भएको पत्र आइपुगेको बताए । उनका अनुसार शुक्रबार बेलुका कारागार व्यवस्था विभागले गिरीलाई विराटनगर स्थानान्तरण गरेको पत्र पठाएको हो ।

गिरीको पुन: सरुवा भएपछि माेरङ कारागारका कैदीबन्दीले कारागार प्रवेश गर्न नदिने तयारी गरेका छन् । ‘कारागारका नाै सय कैदीबन्दी अभिषेक गिरीको विपक्षमा छौं,’ एक कैदीले टेलिफोन सम्पर्कमा भने,‘ अस्ति पनि रोकेका थियौं, अब पनि रोक्छौं ।’ जबरजस्ती प्रवेश गराए कारागारभित्र नराम्रो घटना हुने कैदीबन्दीको चेतावनी छ ।

नेपाली काङ्ग्रेस नेताहरुको दबावमा गत भदौं १७ गते गिरीलाई मोरङ पठाउने निर्णय भएको बताइन्छ । कैदीबन्दीको विरोधपछि कात्तिक १६ गते बिहानमात्रै उनलाई विराटनगर ल्याइयो । गिरीलाई ल्याएपछि कारागारभित्र कैदीबन्दी र बाहिर कैदीबन्दीका आफन्तले प्रदर्शन गरे ।

स्थिति जटिल बनेपछि उनलाई साेही दिन सप्तरी सरुवा गरिएको थियो । सप्तरीबाट मोरङ आउने तयारी गरेपछि गिरीलाई ल्याउन नहुने भन्दै कैदीबन्दीले कारागार व्यवस्था विभागमा निवेदन दिएका थिए । तर सप्तरीबाट १६ दिनमै विराटनगर सरुवा भएको हो ।

गत कात्तिक १६ गते गिरीले कारागारमा प्रवेश नपाएपछि गिरीकै योजनामा कात्तिक २४ गते झडप भएको थियो । झडपमा गिरीको विपक्षमा रहेका चौकीदार किरण गुरुङसहित ६ जना घाइते भएका थिए । झडपपछि गिरीको विपक्षमा रहेका चौकीदारसहित १४ जना नाइकेको सरुवा भएको थियो ।

गुरुङको सरुवापछि गिरीको पक्षमा रहेका कार्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिइएको थियो । चौकीदारको जिम्मेवारी पाएपछि कामत पनि गिरीलाई प्रवेश गर्न नदिने पक्षमा उभिएका छन् ।

विराटनगरमा रहँदा गुन्डागर्दी गरेपछि अभिषेक गिरीको २०७४ साल चैत २३ गते डिल्लीबजार स्थानान्तरण भएको थियो । उनको सरुवापछि नवीन राईलाई चौकीदारको जिम्मेवारी दिइएको थियो । पुन: गिरीलाई मोरङ ल्याइने भएपछि राईलाई गत असोज १८ गते झुम्का कारागार स्थानान्तरण गरिएको थियो । राईलाई झुम्का लगिएपछि किरण गुरुङलाई मोरङ कारागारमा अर्काे व्यवस्था नभएसम्मका लागि चौकीदारको जिम्मेवारी दिइएको थियो । उनको पनि सरुवा भएपछि कार्तिक कामतलाई जिम्मेवारी दिइएको हो । गिरी विराटनगर आए चौकीदारको जिम्मेवारी उनले नै पाउनेछन् । दुई सय ५० जना क्षमता रहेको कारागारमा नाै सय ५३ कैदीबन्दी छन् ।