काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गर्दै नेकपा एकीकृत समाजवादीलेबाट दुई मन्त्रीलाई शपथ खुवाउने भएका छन् ।
एकीकृत समाजवादीबाट संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादव पार्टीको तर्फबाट सरकारमा सहभागी हुने भएका हुन् । उनीहरुलाई मन्त्रीमा नियुक्ति गरेर आइतबार दिउँसो शपथ गराउने तयारी भएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा सत्रुधन महतो र कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रीमा प्रमोद यादव रहने भएका छन्।
मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई दुई दिनअघि पदमुक्त गरेका थिए ।
मुख्यमन्त्री राउतले अहिलेसम्म कानुन, न्याय तथा प्रदेश सभा मामिला र बाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय आफैले सम्हाल्दै आएका छन् ।