काठमाडौँ — सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति तोकेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।
राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने बाँकी १९ जना निर्वाचित हुन ।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्नेछ। त्यहीअनुसार निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारलाई माघको दोस्रो साताभित्र निर्वाचन गर्न प्रस्ताव गरेका थिए ।
सोहि प्रस्तावबमोजिम नै निर्वाचन मिति तोकेर आयोगलाई तयारी अघि बढाउन सरकारले आग्रह गरेको छ ।