काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन् । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताए ।
उनले विद्युतीय सामग्रीको प्रयोग गरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिए । ऊर्जा उत्पादकहरुले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै देउवाले काम गर्न पनि आग्रह गरे । उनले खल्तीमा लाइसेन्स राखेर काम नगर्ने परिपाटी हट्नुपर्ने बताए ।
‘हामीले किन ग्याासको चुल्हो बाल्ने, हामीसँग यति विद्युत छ कि व्याट्रीबाट गाडी चलाउन सक्छौँ, बस चलाउन सक्छौँ ’ देउवाले भने ‘हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुन सक्दछ, उद्यमी/व्यापारीलाई इन्सेन्टीभ दिन तयार छौं।’ कमसेकम काठमाडौंमा व्याट्रीबाट गाडीहरु सञ्चालन गर्न सकिने र घरमा खाना पकाउने इलेक्ट्रिक चुल्हो राख्न सकिने उनले बताए ।
कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई माग बमोजिम विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताइन् । निजी क्षेत्रलाई विद्युत व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउनको निम्ति उनले आग्रह गरिन् । ‘अहिले नेपाल विद्युत प्राधिकरणले मात्र गरिरहेको विद्युत व्यापार निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने कुरा उठिरहेको छ’ भुसालले भनिन् ‘यदी निजी क्षेत्रले हामी यो परिमाणको विद्युत यसरी विक्री गर्न सक्छौँ भन्ने आधारसहित आएमा हामी अनुमति दिन तयार छौं ।’