सर्लाहीमा मंसिर २ गते वडा र १२ गते जिल्ला अधिवेशन गर्ने सहमती संगै कांग्रेसको विवाद टुंगियो

 संवाददाता    २०७८, २९ कार्तिक सोमबार १७:२३     81 जनाले पढ़िसके



Spread the love

सर्लाही । सर्लाही जिल्लामा दुई पक्षबीच विवादका कारण रोकिएको कांग्रेसको वडा अधिवेशन मंसिर २ गते हुने भएको छ ।

दुई पक्षको विवादका कारण निर्वाचन अधिकृत विनोद कार्कीले कात्तिक २६ गते राजीनामा दिएका कारण कात्तिक २७ गतेका लागि तोकिएको वडा अधिवेशन रोकिएको थियो । वडा अधिवेशन हुन नसकेका कारण त्यसपछिका सबै तहका अधिवेशन प्रभावित भएका थिए ।

कार्कीले राजीनामा दिएपछि पार्टी केन्द्रीय कार्यालयले दिवाकर पाण्डेलाई नयाँ निर्वाचन अधिकृतको रुपमा खटायाे । नयाँ निर्वाचन अधिकृत केन्द्रले खटाए पनि दुई पक्षबीच विवाद नमिलेसम्म अधिवेशन हुने संभावना थिएन । त्यसैले पाण्डेले पहिला दुबै पक्षलाई राखेर सहमति जुटाउने प्रयास गरे । हिजाे सहमति जुटाउने प्रयास असफल भए पनि पाण्डेको अध्यक्षतामा सोमबार दुबै पक्षका प्रतिनिधि सहभागी बैठकले सहमति कायम गर्दै २ गते वडा, ५ गते पालिका, ८ गते प्रदेश क्षेत्र, १० गते प्रतिनिधिसभा क्षेत्र र १२ गते जिल्ला अधिवेशन गर्ने मिति तय गरेको हो ।

पाण्डेको अध्यक्षमा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य जंगीलाल राय, आमन्त्रीत केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, जिल्ला सचिव एवं प्रदेश सांसद उपेन्द्र कुशवाह, जिल्ला सचिव नवीन अधिकारी, प्रदेश २ का मन्त्री वीरेन्द्र प्रसाद सिंह, नेता विनोद खनाल, बलराम झा, रविनन्दन चौधरी, पुण्यप्रसाद घिमिरे, कौशलकिशोर रायलगायत सहभागी थिए ।

आइन्दा कुनै विवाद आउन नदिने र विवाद भएको खण्डमा मिलाउन निर्वाचन अधिकृत पाण्डेको संयजकत्वमा सचिवहरु उपेन्द्र कुशवाह, नवीन अधिकारी र शुभेच्छुक संस्थाका एकजना रहनेगरी समिति गठन गरिएको छ ।

त्यसैगरी निर्वाचन अधिकृतको सचिवालयमा दुबै पक्षबाट एक/एक जना शिक्षक राख्ने सहमति पनि भएको छ । यसअघि निर्वाचन अधिकृतको सचिवालयमा राखिएका शिक्षकको विषयमा दुबै पक्षबीच विवाद भएपछि निर्वाचन अधिकृतले राजीनामा दिएका थिए ।

निर्वाचन अधिकृतले राखेको दुबै पक्षको बैठक अन्यन्तै सौहार्दपूर्ण वातावरणमा भएको कांग्रेस नेता बिनोद खनालले बताए।