विज्ञापन बोर्डले मदिरा, सुर्ती र सुर्तीजन्य वस्तुको विज्ञापन गर्ने/गराउनेलाई कारबाहीको चेतावनी दिएपछि विज्ञापन संघले त्यसको विरोध गरेको छ । संघले विज्ञप्ति निकाल्दै विज्ञापन रोक्न निर्देशन दिनु व्यवसायीमाथिको कुठराघात भएको उल्लेख गरेको छ ।विज्ञप्तीमा उल्लेख छ, ‘बोर्डले ऐनको हवाला दिएर कोभिडपछि बिस्तारै अगाडि बढदै गरेको विज्ञापन व्यवसायलाई मदिराको विज्ञापन नगर्नु भन्नु व्यवसायीमाथिको कुठराघात हो ।’ बोर्डले कात्तिक २५ गते विभिन्न सञ्चारमाध्यम र देशका विभिन्न भागमा मदिराको विज्ञापन देखेकोले ती सबै विज्ञापन तत्काल हटाउन निर्देशन दिएको थियो ।यो निर्देशनको विरोध गर्दै विज्ञापन संघले कोभिडले थलिएको उठ्नै लाग्दा बोर्डले षड्यन्त्र गरेको दाबी गरेको छ ।