निर्वाचन अधिकृतकाे राजीनापछि सर्लाहीमा कांग्रेसकाे वडा अधिवेशन अनिश्चित

 संवाददाता    २०७८, २६ कार्तिक शुक्रबार १६:१५     68 जनाले पढ़िसके



Spread the love

सर्लाही : निर्वाचन अधिकृतले नै राजीनामा दिएर हिडेपछि सर्लाहीमा शनिवारका लागि तय भएको कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ ।

केन्द्रीय निर्वाचन समितिले सर्लाहीको लागि निर्वाचन अधिकृतको रुपमा खटाएको विनोद कार्कीले शुक्रवार बिहान राजीनामा दिएर काठमाडाैं फर्किएका हुन् ।

कांग्रेस जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय समूहको विवाद र दबाबका कारण निर्वाचन अधिकृत पदबाट राजीनामा दिएको कार्कीले संकेत गरेका छन् ।

आसन्न निर्वाचनमा जिल्ला सभापतिको दावेदार उनीहरूबीच पालिका तथा वडास्तरमा पनि उत्तिकै प्रतिस्पर्धा हुने देखिएको छ ।

हालका जिल्ला सभापति नागेन्द्रकुमार राय कांग्रेस केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।

जिल्लामा कांग्रेसभित्र क्रियाशील सदस्यता वितरणमा समेत विवाद थियाे ।

जिल्ला सभापति नागेन्द्रकुमारको दबाब खेप्न नसकेर निर्वाचन अधिकृतले राजिनामा बुझाएको लक्ष्मण रायको भनाइ छ ।

‘जिल्ला सभापतिले निर्वाचन अधिकृतलाई कामै गर्न दिएनन् ।’ उनले भने, ‘सबै कुरा मैले भनेको मात्र गर, नत्र जाउँ भनेकाले उहाँ जानुभएको छ । यसको जिम्मा सबै सभापतिज्यूले लिनुपर्छ ।’

जिल्ला सभापति रायले भने पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षकोे कारण निर्वाचन अधिकृत काम गर्न नसकेर राजीनामा दिएर गएका दावी गरेका छन् ।

यता, निर्वाचन अधिकृतबाट राजीनामा दिएका कार्कीले भने दुई पक्षको दबाब थेग्न नसकेर राजीनामा दिएको बताएका छन् ।

उनले संचारकर्मीहरूसँग एक पक्षले एक थरी र अर्को पक्षले अर्कै थरी कुरा गर्दा निर्वाचन गराउन सक्ने अवस्था नदेखिएकोले राजीननामा दिनुपरेको बताएका हुन् ।