सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सडक आन्दोलनमा उत्रिएको छ । अखिलका विद्यार्थीहरुले ‘परमादेशी सरकार राजीनामा दे’, ‘जनतामारता सरकार मुर्दावाद’, मूल्यवृद्धि फिर्ता गर, नाफाघाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं, परमादेशको उपहार, मूल्यवृद्धि बारम्बार’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए।
विरोध प्रदर्शन आर.आर. कलेज, प्रदर्शनीमार्गबाट भएको हो । अनेरास्ववियु उपत्यका विशेष बाग्मती प्रदेश अध्यक्ष शंकर भण्डारीको नेतृत्वमा प्रदर्शन भएको हो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष आर.सी. लामिछाने, उपाध्यक्ष याम पाण्डे, महासचिव समिक बडाल, उपमहासचिव सुदर्शन शिवाकोटीलगायत उपस्थित् थिए । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको मुकुटसहितको पुत्लादहन गरेका थिए।