प्रधानन्यायाधीश राणाविरुद्ध बारले आज उपत्यकाका सबै अदालतमा धर्ना दिने कार्यक्रम

 संवाददाता    २०७८, २५ कार्तिक बिहीबार ०९:०१     59 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको आन्दोलन आजदेखि थप सशक्त हुने भएको छ। राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसियसन र सर्वोच्चका न्यायाधीशहरु आन्दोलनमा छन्।

बारले आज प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा बिहान १० देखि १२ बजेसम्म कालोपट्टि बाँधेर धर्ना दिने भएको हो।

यसअघि सर्वोच्च अदालत र बार एसोसियसनको केन्द्रीय कार्यालय परिसरमा मात्रै आन्दोलन गरिरहेको बारले आफ्नो आन्दोलनलाई क्रमशः विस्तार गर्दै लगेको छ। बारले आफ्नो आन्दोलन सशक्त बनाउन देशभरका ९० वटा बार एकाइसँग छलफलसमेत गरिसकेको छ। उक्त छलफलमा बारम्बार आन्दोलन गरिरहनुभन्दा निर्णायक आन्दोलन गर्नुपर्ने सुझाव दिइएको थियो।

बिहीबारदेखि सुरु हुने आफ्नो आन्दोलनलाई सहयोग गर्न बारका महासचिव लीलामणि पौडेलले उपत्यकाभित्रका सबै न्यायिक निकायलाई पत्राचारसमेत गरिसकेका छन्।