काठमाडौँ — राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्राहकलाई अत्याचार नै हुनेगरी सेवा शुल्क नलिन बैंकहरूलाई निर्देशन दिएका छन् । नेपाल बैंकर्स एसोसिएसनको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकहरुले छोटो समयमा कमाउने उद्देश्य राखेर कर्जा प्रवाह गर्न खोज्दा समस्या आएको बताए ।
कोभिड–१९ पछि बैंकहरूमा कर्जाको माग बढेको र छोटो समयमा धेरै कमाउने उद्देश्यले ती सबै माग सम्बोधन गर्न खोज्दा तरलतामा चाप परेको उनले बताए । बैंकहरूले गरेको लगानीमा करिब ६० प्रतिशत आयात केन्द्रित रहेको उनको भनाइ छ । बैंकहरू अल्पकालमा धेरै नाफा कमाउनतिर केन्द्रित हुनुभन्दा पनि दीर्घकालीन रुपमा प्रणालीमा स्थायित्व हुनेगरी अघि बढ्नुपर्नेमा उनले जोड दिए ।