घट्न थाल्यो काठमाडौं उपत्यकाको तापक्रम

 संवाददाता    २०७८, १० कार्तिक बुधबार ०८:१३     70 जनाले पढ़िसके



Spread the love

काठमाडौं । देशका केही भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहनेछ ।

मौसमविद् निराजन सापकोटाका अनुसार देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

उनका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदलीसम्म रहनेछ ।

पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

“आज वाग्मती, सूदूरपश्चिम प्रदेशका केही पहाडी भू–भाग तथा पूर्वी पहाडमा पनि सामान्य वर्षाको सम्भावना रहेको छ,” मौसमविद् सापकोटा भन्छन्, “भन्छन् तर यी ठाउँमा पनि सबै स्थानमा वर्षा हुन्छ भन्ने छैन । पानी पार्ने उल्लेखनीय कुनै मौसमी प्रणाली छैन । स्थानीय वायुको प्रभाव रहेकाले यो पानी पर्न लागेपछि आफैं हराएर पनि जान्छ ।”

काठमाडौंमा घाम लाग्ने र बादल लाग्ने भइरहे पनि वर्षाको सम्भावना भने नरहेको उनको भनाइ छ ।

यसैबीच, तापक्रम केही घट्न थालेको छ । आज बिहान काठमाडौंको तापक्रम १३.५ डिग्री सेल्सियस रहेको छ । हिजो बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस रहेको थियो । अब रातको समयमा आकाश खुला हुने र सित पर्ने हुँदा चिसो बढ्दै जाने उनको भनाइ छ ।

देशका केही स्थानमा हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाले उक्त क्षेत्रका वासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।