एकीकृत समाजवादीको सर्लाही अध्यक्षमा सुरेन्द्र लामा चयन

 संवाददाता    २०७८, ६ कार्तिक शनिबार १२:१९     79 जनाले पढ़िसके



Spread the love

एमालेको विभाजनपछि गठन भएको नेकपा (एकीकृत समाजवादी)को जिल्ला अध्यक्षमा सुरेन्द्र लामा चयन भएका छन्। लामो रस्साकस्सीपछि एकीकृत समाजवादीले लामाको अध्यक्षतामा पार्टीको सर्लाही जिल्ला कमिटी घोषणा गरेको हो। पार्टी प्रदेश कमिटीको निर्णयलाई अनुमोदन गर्दै केन्द्रीय कमिटीले सर्लाही जिल्ला कमिटी घोषणा गरेको हो। घुर्कौली निवासी लामा २०७० सालको संविधानसभा निर्वाचनमा एमालेको तर्फबाट उम्मेद्वार बनेका थिए।

पार्टीको सर्लाही जिल्ला कमिटी उपाध्यक्षमा मलंगवाका देवेन्द्र यादव र सचिवमा परवानिपुरका गोविन्द अधिकारी चयन भएका छन्।

एकीकृत समाजवादीको प्रदेश २ का सचिव लक्ष्मण पौडेलले ओलीको प्रतिगमनविरुद्ध घोषणा गरिएको ३०१ सदस्यीय संघर्ष कमिटीलाई नै जिल्ला कमिटीमा रुपान्तरण गरिएको जानकारी दिए। लामो समय झलनाथ खनाल-माधव नेपाल पक्षमा रहेर ओलीको विरुद्धमा लागेका एमाले जिल्ला अध्यक्ष रेवती पन्त भने एमालेमै बसेका छन्।

एकीकृत समाजवादीको जिल्ला इन्चार्जमा प्रदेश सभा सदस्य समेत रहेका रवीन्द्र बैठा र सहइन्चार्जमा प्रदेश सभा सदस्यद्वय बेची लुंगेली र डिल्ली प्रसाद उप्रेती तोकिएका छन्।

सर्लाहीमा एमालेका अधिकांश पुराना नेताहरु एकीकृत समाजवादीमा लागेका छन्।