गोल्छा, चौधरी र सुमार्गी लगायत १६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी

 संवाददाता    २०७८, १८ आश्विन सोमबार ०७:०७     142 जनाले पढ़िसके



Spread the love

गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर खरीद–बिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको छ ।

आईसीआईजे सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासा अनुसार, नेपालका दुई ठूला व्यापारिक घराना – चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसन सम्बद्ध व्यक्तिहरू समेत त्यस्तो कार्यमा संलग्न भएको भेटिएको हो।अमेरिकाको वासिङटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’ लाई उपलब्ध गराएको कागजात अनुसार प्रतिनिधिसभा सदस्य तथा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको पाइएको छ । ती कम्पनीहरू विनोद चौधरी, उनकी श्रीमती सारिकादेवी र तीन छोरा निर्वाण, बरुण र राहुलको नाममा छन्

यस्तै अफशोर कम्पनी खोलेर कारोबार गर्नेमा नेपालको अर्को ठूलो व्यापारिक घराना गोल्छा अर्गनाइजेसन पनि छ । गोल्छा अर्गनाइजेशन सम्बद्ध लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमै कम्पनी छ ।

त्यसैगरी खोपके नेपालकै यसअघिको खुलासा नेपालिक्समा उल्लेख भएका नेपाली नागरिकहरू अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनीहरू पनि सञ्चालनमा रहेको तथ्य फेला परेको छ ।

यसबाहेक ललितपुर पुल्चोक ठेगाना भएका राजेन्द्र शाक्य र अन्य नेपाली व्यवसायीहरू– सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल, काठमाडौं ज्ञानेश्वरका सुधीर मित्तल नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक राधेश्याम सराफको लगानीमा पनि ट्याक्स हेभन मुलुकमा कम्पनी सञ्चालनमा रहेको देखिएको छ ।

गैरआवासीय नेपालीले कुनै पनि नाममा नेपालबाट पैसा लगेर विदेशमा लगानी गर्न पाइन्न । आयकर ऐन–२०५८ ले ‘अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको व्यक्ति’ लाई ‘बासिन्दा व्यक्ति’ सम्झनुपर्छ भनी व्यवस्था गरेको छ । “यो व्यवस्था अनुसार कुनै नेपाली नागरिक १८३ दिन विदेशमा बस्छ, त्यसपछि उसले विदेशमै आम्दानी गर्छ भने त्यहाँ लगानी गर्न पाउँछ” पूर्व अर्थ सचिव रामेश्वर खनाल भन्छन्, “यसबाहेक नेपाली नागरिकको विदेशमा लगानी गैरकानूनी हो ।”

अर्थात् ‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१’ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशका बैंकमा खाता खोल्नेदेखि कुनै पनि कम्पनीमा लगानी गर्न पाउँदैनन् । ऐन विपरीत काम गरेमा ‘बिगो बमोजिम जरिवाना, ६ महीना कैद वा दुवै सजाय’ हुने व्यवस्था छ ।

गैरआवासीय नेपालीले पनि कर छली गर्न सजिलो मानिने, सम्पत्तिको स्रोत खुलाउन नपर्ने र अवैध आर्जनबाट प्राप्त सम्पत्ति समेत लुकाउन सजिलो ठानिने ट्याक्स हेभन मुलुकमा लगानी गरेको देखिनु अपारदर्शी कारोबार र वैधताका दृष्टिले गम्भीर प्रश्न हो ।

ट्याक्स हेभन मुलुकमा ‘अफशोर कम्पनी’ खोलेर लगानी गर्नु किन गम्भीर विषय हो भन्ने बारेमा आईसीआईजेका निर्देशक जेरार्ड रायलले प्रष्ट्याएका छन् । प्यान्डोरा पेपर्स सार्वजनिक हुनुअघि अष्टे«लियाको एबीसी टेलिभिजनलाई अन्तर्वार्ता दिंदै रायलले ‘अफशोर कारोबारले सम्बन्धित देशमा असमानता र गरीबी बढाउनेदेखि कर बापत आउनुपर्ने रकम मुलुकले गुमाइरहेको’ बताएका छन् । उनको भनाइमा यस्तो कारोबारबाट व्यापारी, नेता, सरकारी अधिकारी र अपराधीहरू अफशोर गोपनीयताको फाइदा उठाएर लाभान्वित भएका छन् ।