झण्डै डेढ बर्ष देखि बन्द रहेको वीरगन्ज–रक्सौल सिमानाकाबाट भारतीय यात्रु बाहक सवारी साधनको आवागमन खुल्ला भएको छ । मन्त्री परिषदको निर्णय अनुसार आजदेखि औपचारिक रुपमा भारतीय यात्रु बाहक सवारी साधन नेपाल प्रवेश गर्न थालेका हुन् । यसअघि भारतीय मालबाहक सवारी साधन मात्र नेपाल प्रवेश गर्न पाएका थिए ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले मन्त्री परिषदले असोज ६ गते जारी गरेको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा सम्बन्धि आदेशले तोकेको मापदण्ड पुरा गरी मात्र भारतीय यात्रु बाहक सवारी साधनलाई नेपाल प्रवेश गर्न दिइएको बताउनुभयो । नेपाल प्रवेश गर्नु ७२ घण्टा अघिको कोभिड १९ को परीक्षण रिपोर्ट नेगेटिव भएको हुनुपर्ने तथा तेश्रो मुलुकबाट आउनेहरुले नेपाल प्रवेश गर्नु अघि अनलाइन फर्म भरी त्यसको प्रिन्ट बुझाउनु पर्ने छ ।