किन बोलाए देउवाले सर्वदलीय बैठक ?

 संवाददाता    २०७८, १४ आश्विन बिहीबार ०९:४०     100 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई बोलाइएको छ । सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग प्रधानमन्त्री देउवाले छलफल गर्न लाग्नु भएको हो । बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाउने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ । यस्तै प्रधानमन्त्री देउवाले आज मन्त्रालय बाँडफाँट टुङ्ग्याउने तयारी थाल्नु भएको छ । मन्त्रालय भागबण्डा टुङ्ग्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिने उहाँको तयारी छ । यसका लागि उहाँले सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग मन्त्रीको नाम माग्नु भएको छ । प्रधानमन्त्री देउवाले आज नै गठबन्धनको बैठक बोलाएर मन्त्रालयको टुङ्गो लगाउने तयारी गर्नु भएको हो । मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डाका विषयमा हिजो पनि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २ घण्टा छलफल भएको थियो । छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने अस्वस्थ भएकाले सहभागी हुनु भएको थिएन भने जसपा अध्यक्ष उपेन्द्र यादव जनकपुर रहेकाले सहभागी हुनु भएको थिएन । मन्त्रालयको सङ्ख्याका विषयमा भने गठबन्धन आबद्ध दलबीच सहमति भइसकेको छ । सहमतिअनुसार कांग्रेसले सात, माओवादी, जसपा र एकीकृत समाजवादीले पाँच मन्त्री र एक राज्य मन्त्री पाउने छन् । तर, कुन-कुन मन्त्रालय कसले लिने भन्ने टुङ्गिएको छैन ।