इनम सापकोटा प्रकरणले रोकियो संवैधानिक इजलासको सुनुवाइ

 संवाददाता    २०८३, १९ कार्तिक बुधबार १३:२०     12 जनाले पढ़िसके



Spread the love

इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशको संवाद देखिएका विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतको संवैधानिक इजलास प्रभावित भएको छ।

प्रधानन्यायाधीश डा. मनोजकुमार केसी र न्यायाधीश हरिप्रसाद फुयाल समेतसँग मुद्दाका विषयमा सापकोटाले संवाद गरेको विषय बाहिरिएका थिए। म्यासेज बाहिरिएपछि न्यायाधीश फुयालले भेटेको पनि स्वीकार गरेका छन्।

उनले अरु न्यायाधीशले पनि भेटेको बताएका थिए। तर लेनदेन गरेर मुद्दाको आदेश गरेको भने उनले अस्वीकार गरेका छन्।

सापकोटाले म्यासेजमा प्रधानन्यायाधीश शर्माको पनि नाम लिएका थिए। शर्मा भने आफ्नो नाम जोडिनासाथ मुद्दाको सुनुवाइमा सहभागी छैनन्। प्रधानन्यायाधीश अरु इजलासमा बसेका छैनन् भने उनकै नेतृत्वमा हुने संवैधानिक इजलासमा पनि बसेको छैन।

संवैधानिक इजलास प्रधानन्यायाधीशको नेतृत्वमा गठन हुन्छ। तर दुई सातायता संवैधानिक इजलास बसेको छैन। यसअघि संवैधानिक इजलास हरेक बुधबार बस्दै आएको थियो।

पछिल्लो पटक असोज २१ गते न्यायाधीश फुयाललाई राखेर इजलास गठन गरिएको थियो। तर त्यो दिन न्यायाधीश फुयालका कारण इजलास बस्न सकेन।

इजलास गठनको प्रक्रियामा प्रश्न गर्दै फुयाल इजलासमा बस्ने मानेनन्। त्यसपछि भने इजलास नै बस्न सकेको छैन।

अहिले प्रश्नको घेरामा परेपछि न्यायाधीश फुयाल बिदामा छन्। उनले यो एक साता बिदा लिएका छन्। त्यसपछि तिहार बिदा सुरु हुन्छ।

प्रधानन्यायाधीश र न्यायाधीशहरूले भने सापकोटासँगको कनेक्सन अस्वीकार गरेका छन्। सापकोटालाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।