एमालेविरुद्ध फैलिएका भ्रमको प्रमाणसहित खण्डन गर्न विद्या भण्डारीको आग्रह

 संवाददाता    २०८३, १९ कार्तिक बुधबार १२:४१     22 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारीले पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताएकी छन्।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्दै आएको पार्टी भएको बताइन्।

एमाले मुलुकमा लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको प्रमुख राजनीतिक दल भएको जिकिर गरिन्।

उनले भने, ‘यस पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही जानकारी प्रवाह हुनु र तिनको वस्तुनिष्ठ मूल्याङ्कन हुनु आवश्यक छ। पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नु पर्दछ।’

महिला र युवालाई नेतृत्वमा अघि बढ्ने अवसर र वातावरण सिर्जना गर्नुपर्ने समेत बताइन्।

उनले भनिन्, ‘प्रवासमा रहेका सबै नेपालीको अवस्था र आवश्यकता एउटै पनि छैन र हुँदैन। तर श्रमिक, विद्यार्थी, व्यवसायी, महिला, युवा र विभिन्न पेसामा संलग्न नेपालीका समस्या आफ्नै छन् र समस्या र सरोकारहरू पनि छन्। ती सबैलाई समेटेर सङ्गठनका गतिविधि अघि बढाउनु पर्छ।’

स्वदेशी निजी क्षेत्रसँग जोडिएर उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा पनि प्रोत्साहित गर्नुपर्नेमा जोड दिइन्। सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको बताइन्।