‘यो गिरोहलाई हटाएर सरकार सम्हाल्नुस्’ : रविलाई रमेश खरेलको सुझाव

 संवाददाता    २०८३, १९ कार्तिक बुधबार ११:४१     39 जनाले पढ़िसके



Spread the love

पूर्वडिआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा हस्तक्षेप गर्न आग्रह गरेका छन् । रविले आफैं सरकारको नेतृत्व सम्हाल्नुपर्ने अवस्था आएको उनको टिप्पणी छ ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै खरेलले प्रधानमन्त्री बालेन र उनको टिमको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।

‘रविजी, पार्टी मात्रै होइन, यो गिरोहलाई हटाएर सरकार पनि आफैं सम्हाल्नुपर्ने अवस्था आइसकेको छ,’ उनले लेखेका छन् ।

खरेलले बिचौलिया परिचालन गरेर राज्यका शक्तिशाली संरचनालाई कमजोर बनाउने प्रयास भइरहेको आरोप आरोप लगाएका छन् ।

‘दुई तिहाइको जनादेश र जेनजी विद्रोहपछिको जनसमर्थनको हुर्मत कसरी लिइँदैछ भन्ने विषय अहिलेका बहालवाला प्रधानमन्त्री बालेन र उनको ‘लगान’ टिमले स्पष्ट पारिदिएको छ,’ उनले लेखेका छन् ।

उनले जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा सरकारको कार्यशैलीले त्यसको मर्ममाथि नै प्रहार गरिरहेको बताएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापालाई लक्षित गरेर भइरहेको गतिविधिमाथि पनि उनले प्रश्न उठाएका छन् ।

सानेपाबाट सरकारलाई प्रश्न गरेकै आधारमा गगन थापालाई फसाउने नाटक भइरहेको उनको आरोप छ । सरकारलाई प्रश्न गर्ने प्रतिपक्षको अधिकार कुण्ठित गर्न खोज्नु लोकतान्त्रिक व्यवस्थाका लागि राम्रो संकेत नभएको उनले बताएका छन् ।

‘सत्तालाई निरंकुश हुनबाट रोक्ने सबैभन्दा बलियो आधार नै प्रश्न गर्न सक्ने प्रतिपक्ष हो,’ खरेलले लेखेका छन्, ‘लोकतन्त्रमा सरकार शक्तिशाली हुनु अस्वाभाविक होइन, तर सरकारलाई खबरदारी गर्ने प्रतिपक्षको आवाज पनि उत्तिकै बलियो हुनुपर्छ ।’

गगन थापाले कांग्रेसको आधिकारिकता प्राप्त गर्न १८ करोड रुपैयाँ खर्च गरेको भन्ने आरोप तथा सर्वोच्च अदालतका न्यायाधीशको नामसमेत जोडेर भइरहेको प्रचारलाई उनले चिन्ताजनक भनेका छन् । राजनीतिक विवादको निरूपण प्रमाण र कानुनी प्रक्रियाबाट हुनुपर्ने भन्दै उनले सामाजिक सञ्जालको भीड परिचालन र डिजिटल ट्रायलबाट कसैलाई दोषी ठहर गर्न नहुने बताएका छन् ।

खरेलले आफ्नो स्टाटसको अन्त्यमा प्रधानमन्त्री बालेनलाई सम्बोधन गर्दै ‘बालेन, दिस इज नट डन’ लेखेका छन् ।