नेकपा (एमाले) की केन्द्रीय सदस्य रचना खड्काले पार्टी कमजोर हुनुमा नेतृत्वलगायतका आठ कमजोरी औंल्याएकी छन्।
ललितपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै खड्काले नेतृत्वको पनि आलोचना गरेकी छन्। अध्यक्ष केपी शर्मा ओली पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बोल्दै उनले गत फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा भएको हारको उल्लेख गरेकी छन्।
‘हामी हाम्रो राजनीतिक कार्यदीशाको महत्त्वपूर्ण पक्ष नेताहरू कार्यकर्ताबाट र पार्टी जनताबाट अनुमोदन हुनुपर्दछ भन्ने मान्छौं भने पछिल्लो निर्वाचनको परिणामलाई अगाडि राखेर सोचौं,’ एमालेको पराजयको प्रसंग निकाल्दै खड्काले भनिन्, ‘पार्टी अध्यक्ष स्वयं ५० हजार अन्तरमा पराजित हुनुभएको थियो र सचिवालयको एक जनाले पनि निर्वाचन जित्न सक्नु भएन। यो तथ्य भित्रको सत्य स्वीकार गरौं।’
उनले एमाले पुनर्गठन प्रतिवेदनलाई लिएर पनि असन्तुष्टि जनाएकी छन्। केन्द्रीय कमिटी बैठकमा कार्यदलको प्रतिवेदन प्रस्तुत नहुनु गलत भएको बताइन्।
‘कार्यदलले यहि तथ्यलाई केन्द्रमा राखेर खस्कदो जनमतको कारणहरूको खोजी गर्दै हामीले गरेका निर्णयहरू र कार्यदीशातर्फ फर्केर निर्मम समीक्षा गर्नुपर्ने थियो। कार्यदलमा के थियो थाहा भएन,’ उनले थपिन्, ‘पतिवदनमाथि नै यसमा छलफल गर्न उचित हुन्थ्यो। यो बैठकको केन्द्रीय विषय नै कार्यदलको प्रतिवेदन हुनुपर्दथ्यो। प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत नहुनु अत्यन्तै गलत निर्णय हो।’
त्यस्तै, उनले नेतृत्व तहमा मेलमिलाप गर्दैमा पार्टी एकढिक्का नहुने जिकिर गरिन्। पार्टीलाई बलियो बनाउन तल्लो तहसम्म एकता जरुरी भएको औंल्याइन्।
‘मलाई नेताहरू एकापसमा मिल्नुहुन्न कि भन्ने डर लाग्दैन किनभने विगतको अनुभवको आधारमा भन्न सक्छौं, यहाँहरू मिल्नु हुन्छ र एकताबद्ध हुनुहुन्छ। तर चिन्ता के हो भने यहाँहरूको एकताले मात्रै आजका दिनमा माथि उल्लेखित निर्वाचन परिणामलाई बदल्न सक्ला?,’ उलने प्रश्न गरिन्।
नेत्री खड्काले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा प्रतिनिधि सभा पुनःस्थापनाको विषय राखिएकोमा असन्तुष्टि जनाइन्। अब त्यतातिर लाग्न नहुने उनको भनाइ छ।
‘अध्यक्षको प्रतिवेदनमा प्रतिनिधि सभाको पुनःस्थापनाको लागि आन्दोलन गर्ने विषय मूल कार्यभारको रुपमा आएको छ,’ खड्काले भनिन्, ‘ अध्यक्ष कमरेड म ध्यानाकर्षण गराउन चाहन्छु यदि यस्तो गरियो भने २०७७ पुस ५ गते प्रतिनिधि सभाको विघटन पश्चात् आम जनतामा टुट्दै गएको हाम्रो भरोसा र ओरालो यात्रालाई यसले अझै तीब्र बनाउनेछ मात्रै हैन क्षेतबिक्षत बनाउनेछ। कृपया यता नलागौं।’
अहिले पार्टी नेतृतवको प्रशंसा र आलोचनामै समय गइरहेको बताइन्। नेता तथा कार्यकर्तालाई यसबाट टाढा राख्नुपर्ने उनले बताइन्।
‘विचार, व्यवहार, जीवनशैली, कार्यशैली, पार्टी काम छोडेर मूल्यांकनको एउटै आधार नेतृत्वको प्रशंसा र आलोचनामा सिमित भए र संकुचनबाट पार्टी पंक्तिलाई मुक्त गरौं,’ खड्काले भनिन्, ‘आन्तरिक प्रतिस्पर्धा नेतृत्वप्रतिको अनादार हैन, अजेन्डामा असहमति राख्ने वित्तिकै पार्टी विभाजन गर्न खोजेको आरोप लगाउने काम बन्द गरौं।’
यससँगै उनले युवा पुस्तालाई ध्यानमा राख्नुपर्नेमा जोड दिइन्। युवा पुस्ताका गुनासो सुन्नु पर्ने बताउँदै पार्टीमा पनि सहभागिता जनाउनुपर्ने बताइन्।
‘१८-४० वर्ष उमेर समूहका मतदाता ५२ प्रतिशत छन् र ५० वर्षभित्रका मतदाता करिब ६७ प्रतिशत रहेका छन्,’ उनले भनिन्, ‘हाम्रो अघिल्लो पंक्तिले नै मुलत नीति निर्माणको निर्माणको काम गर्छ। त्यहाँ ६७ प्रतिशत मतदाता रहेको उमेर समूहको प्रतिनिधित्व नै शून्य छ। यो तथ्यांक र हाम्रो अवस्था अस्वाभाविक छ।’
नेतृत्व तहले कार्यकर्ता र जनताको भावना बुझ्न नसकेको उनले औंल्याइन्। एमालेलाई घेराबन्दी गरियो भनेर मात्रै नपुग्ने उनको भनाइ छ।
‘सत्य हो पार्टी र राष्ट्रमाथि घेराबन्दी छ, षड्यन्त्र छ, दमन छ तर पार्टी माथिको दमनले पार्टी पंक्तिमा प्रतिरोध हैन,’ उनले भनिन्, ‘निराशा ब्याप्त भयो भने स्वीकार गरौं। हामीले कार्यकर्ताको भावना र जनताको मनोविज्ञान बुझ्न सकेनौं।’
यससँगै उनले डिजिटल माध्यममा आइरहेका आलोचना र गुनासोलाई पनि आत्मसाथ गर्नुपर्नेमा जोड दिइन्। त्यसका लागि नेतृत्व समयसँगै चल्नुपर्ने उनले बताइन्।
‘समयसँगै धेरै विषयमा परिवर्तन आएको छ। आज जनमत प्रकट हुने थलो डिजिटल माध्यम हो,’ खड्काले भनिन्, ‘डिजिटल माध्यममा आएका विषयलाई घेराबन्दी र षडयन्त्र मात्रै नठानौं। यसले जनमत निर्माणमा निर्णायक काम गर्छ भन्ने बुझौं।’