नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले निर्वाचनको धक्कालाई सामूहिक चुनौती र सामूहिक जिम्मेवारी बोधका रूपमा लिएर जनतामा आशा भरोसा विस्तार गर्नुको सट्टा पार्टीमा अस्वस्थ अवस्था देखिएको बताएका छन् । केन्द्रीय कमिटी बैठकमा बोल्दै पार्टी पुनर्गठनको बहस तलसम्म जाँदा ध्रुवीकरण बढाएको बताए ।
उनले भने, ‘आजका सम्पूर्ण समस्याको कारक पार्टी अध्यक्ष हो र उहाँलाई विस्थापन नगर्दासम्म पार्टी अगाडि बढ्दैन भन्ने तर्क गर्ने, पार्टीका नियमित कामलाई समेत अवरुद्ध गर्ने र पार्टीभित्र तलैसम्म कित्ताकाट गर्दै अस्वस्थता सिर्जना गर्ने स्थिति उत्पन्न भयो ।’
पुनर्गठनको बहस भनेकै पार्टी विभाजनका लागि हो जस्तो गरेर बहस सुनिएको बताए। अब कार्यदलको प्रतिवेदनलाई आधार मानेर पार्टी एकताबद्ध गराउने काम गर्नुपर्ने बताए।
उनले थपे, ‘यसको अगुवाइ अध्यक्षले गर्नुपर्छ । पार्टीको आन्तरिक लडाइँमा जित्नु पर्ने अब कुनै लडाइँ बाँकी छैन । ध्यान योजनाबद्ध नेतृत्व विकासमा केन्द्रित हुनु जरुरी छ । पार्टीको मुख्य नेता र अभिभावकका रूपमा तपाईँको भूमिका जेस्चर, परम्परा र अभ्यासले पार्टीमा भावनात्मक एकता कायम गर्न धेरै ठूलो महत्त्व राख्छन् ।’
एमालेले धक्का खानुको कारण पार्टीको आन्तरिक एकता खलबलिनु र जनतासँगको सम्बन्ध पातलिनु भएको बताए ।
उनले थपे, ‘प्रतिस्पर्धालाई निषेध गर्न सकिँदैन, तर त्यसलाई स्वस्थ कसरी बनाउने र प्रतिस्पर्धापछि पुनः बलियो एकतामा कसरी रूपान्तरण गर्ने ? नयाँ विधि खोज्नै पर्ने भएको छ । यसका लागि नेतृत्वको निष्पक्ष र अभिभावकीय भूमिका आवश्यक छ ।’
सबैभन्दा धेरै अवसर पाएकाहरू असन्तुष्ट रहेको टिप्पणी गरे।
उनले थपे, ‘तिनीहरू नै सबैभन्दा असन्तुष्ट देखिने कारण के हो- अवसर प्राप्ति नै राजनीतिको मुख्य विषय हो भन्ने सन्देश सम्प्रेषित भएर हो कि अवसर दिँदा सही मूल्याङ्कन नभएर हो ?’
पुनर्गठन कार्यदलको सम्बन्धमा चर्चा हुँदा प्रदीप ज्ञवालीको प्रतिवेदनको प्रसङ्ग पनि आयो । म स्पष्ट पार्न चाहन्छु- प्रदीप ज्ञवालीको कुनै छुट्टै प्रतिवेदन छैन । कमरेडहरूलाई थाहै होला, म लेख्छु । दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्, हजारभन्दा बढी लेख पत्रिकामा छापिएका छन् र अन्तर्राष्ट्रिय फोरमहरूमा प्रस्तुत गरिएका २० औँ पेपरहरू छन् । त्यसैले मलाई छद्म रूपमा लेख्नु पर्ने आवश्यकता छैन ।
पार्टीभित्र समस्या उत्पन्न हुँदा समन्वयको भूमिकामा उभिनु कुनै गल्ती होइन होला । पार्टीभित्र ध्रुवीकरण चर्किएको बेला एउटा कित्तामा उभिएर अतिवादी विचार दिँदा मिडिया कभरेज पाइन्छ । तर मलाई त्यसको लोभ छैन । त्यो समाधान पनि होइन । पार्टीभित्रका समस्या समाधानमा हरेक कमरेडले योगदान गर्छ ।
पार्टीभित्रका कतिपय विषयलाई पूर्व प्रक्षेपण गर्दै मिडिया ट्रायल गर्ने र आफ्ना असहमतिलाई विरोधका तहमा पुर्याएर सामाजिक सञ्जालमा छर्ने प्रवृत्ति बढेको छ । यसले एकछिनलाई न्यानो देला । त मिडिया हाइपले कोही दिगो नेता बन्दैन । एकछिनलाई सन्तुष्टि देला, यो बेग्लै विषय हो ।