इमरान खानका बहिनीहरू एलीमा, उज्मा र नुरिन पक्राउ

 संवाददाता    २०८३, ५ आश्विन सोमबार १६:१६     22 जनाले पढ़िसके



Spread the love

पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका तीन बहिनीलाई पञ्जाब प्रहरीले पक्राउ गरी ३० दिनका लागि हिरासतमा राखेको उनको दल पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) ले जनाएको छ ।

पार्टीका अनुसार लाहोरस्थित अलीमा खानको घरमा छापा मारेर अलीमा, डा उज्मा र नोरीन खानलाई पक्राउ गरिएको हो ।

उनीहरूका एक पुरुष आफन्त तथा बालबालिकालाई पनि नियन्त्रणमा लिइएको भए पनि बालबालिकालाई पछि रिहा गरिएको पिटिआईले जनाएको छ । तीनै बहिनीलाई लाहोरस्थित कोट लखपत जेल पठाइएको बताइएको छ ।

लाहोरका उपायुक्तले सार्वजनिक व्यवस्था कायमसम्बन्धी कानूनअन्तर्गत उनीहरूलाई ३० दिन नजरबन्दमा राख्ने आदेश जारी गरेका थिए । पञ्जाब प्रहरीले घटनाबारे टिप्पणी गरेको छैन ।

यसैबीच, पिटिआईले सेप्टेम्बर २७ मा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । सूचना मन्त्री अत्ताउल्लाह तरारले भने प्रदर्शनको आह्वान अवैध भएको बताउँदै सडक अवरुद्ध गरी जनजीवन प्रभावित गर्न नदिइने बताएका छन् ।

७३ वर्षीय खान सन् २०२३ देखि जेलमा छन् । गत वर्ष उनी र उनकी श्रीमतीलाई भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

उनी सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानको प्रधानमन्त्री रहेका थिए ।