अमेरिकालाई इरानको चेतावनी– फेरि हमला गरे नयाँ हतियार प्रयोग गर्नेछौँ

 संवाददाता    २०८३, ५ आश्विन सोमबार १६:००     26 जनाले पढ़िसके



Spread the love

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले अमेरिकाले इरानमाथि पुनः हमला गरे विश्वलाई चकित पार्ने नयाँ हतियार प्रयोग गर्ने चेतावनी दिएको छ ।

आईआरजीसीका प्रवक्ता हुसेन मोहेबीले अमेरिकाले हमला गरे इरानले युद्धको यस चरणमा अहिलेसम्म प्रयोग नगरिएका नयाँ हतियार प्रयोग गर्ने बताएका हुन् ।

इरानले यस्ता हतियार विकास गर्नुका साथै तिनको क्षमता पनि बढाएको उनको दाबी छ ।

मोहेबीले ती हतियारलाई इरानका ‘रणनीतिक हतियार’ भन्दै आवश्यक परेको अवस्थामा प्रयोग गरिने बताए ।

आईआरजीसी प्रवक्ताको यस्तो चेतावनी खातम अल–अनबिया केन्द्रीय मुख्यालयको पछिल्लो भनाइपछि आएको हो । मुख्यालयले अमेरिकाले केही देशबाट स्वीकृति पाएपछि इरानविरुद्ध पुनः सैन्य कारबाही सुरु गर्न चाहेको दाबी गरेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार फक्स न्युजसँग इरानसँगको युद्धबारे कुराकानी गरेका थिए ।

उनले इरानसँगको युद्धका विषयमा निकट भविष्यमा ‘धेरै ठूलो कुरा’ हुन सक्ने र यसबारे आफू ‘निर्णय गर्ने अवस्थामा’ रहेको बताएका छन् ।

यसअघि पनि ट्रम्पले इरानसँगको युद्धलाई लिएर आफूले ठूलो निर्णय गर्नुपर्ने बताएका थिए ।