एसियन गेम्समा नेपालको क्रिकेट यात्रा : पदकको सम्भावना कति, क्वाटरफाइनलमा भारतको चुनौती

 संवाददाता    २०८३, ५ आश्विन सोमबार १३:४७     10 जनाले पढ़िसके



Spread the love

जापानको आइची–नागोयामा सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म हुने २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पदक जित्ने सपना बोकेको छ ।

प्रतियोगिताको ढाँचा हेर्दा नेपाल क्वाटरफाइनलमा पुग्ने बलियो सम्भावना भए पनि त्यसपछिको यात्रा निकै चुनौतिपूर्ण देखिन्छ ।

टि–२० फर्म्याटमा हुने भएकाले नेपाली टीमको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्ने छन् । राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघले टोलीलाई बिदाइ गर्ने कार्यक्रममा बोल्दै उनले यसपटक मेडल ल्याउने सोच राखेको बताए ।

सकेसम्म ‘गोल्ड’कै लागि प्रयास गर्ने, त्यो सम्भव नभए कास्यसम्म लिएर आउने लक्ष्य उनले सुनाए ।

वास्तविकताको धरातलमा उत्रिँदा नेपालले स्वर्ण जित्ने सम्भावना न्यून रहे पनि आफ्नो उत्कृष्ट खेल प्रस्तुत गरेमा र भाग्यले पनि साथ दिएमा नेपालले कास्यपदकको आशा राख्न अवश्य सक्छ ।

प्रतियोगिता ढाँचा र नेपालको समूह

पुरुष क्रिकेटमा १० टोली सहभागी छन् । भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालाई सीधै क्वाटरफाइनलमा पुर्याइएको छ । बाँकी छ टोली दुई समूहमा बाँडिएका छन् ।

समूह ‘ए’मा रहेको नेपालले अफगानिस्तान र आयोजक राष्ट्र जापानसँग भिड्नुपर्ने छ । समूह ‘बी’मा हङकङ, मलेसिया र ओमान छन् । प्रत्येक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्छन् ।

नेपालको पहिलो खेल सेप्टेम्बर २५ मा अफगानिस्तानविरुद्ध र दोस्रो खेल सेप्टेम्बर २६ मा जापानविरुद्ध हुनेछ । नेपाल क्वाटरफाइनलमा पुग्न ठूलो समस्या हुने मानिएको छैन ।

समूहमा तीन टोली मात्र भएकाले एउटा जित नै क्वाटरफाइनल सुनिश्चित गर्न पर्याप्त हुन सक्छ । नेपाल अफगानिस्तानसँग पराजित भयो भने पनि जापानलाई जितेर क्वाटरफाइनल पुग्न सक्ने छ ।

नेपालको हालको फर्म र बलियो पक्ष

नेपालले मे–जुन २०२६ मा सिंगापुरमा भएको क्वालिफायरमा प्रभावशाली प्रदर्शन गर्दै उपाधि जितेको थियो । चीनलाई २२१ रनले, मलेसियालाई १६७ रनले र फाइनलमा हङकङलाई डीएलएस विधिबाट हराएको थियो ।

प्रतियोगिताभरि शानदार ब्याटिङ गरेका कुशल भुर्तेलले दुई विष्फोटक शतक हानेका थिए । अहिले पनि राम्रो लयमा रहेका कुशलबाट एसियन गेम्समा पनि उत्कृष्ट प्रदर्शनको आशा छ ।

नेपाली टीम निकै अनुभवि र सन्तुलितसमेत छ । यसअघि बेन्चमा राखिएका चार खेलाडी सोमपाल कामी, आरिफ शेख र नन्दन यादव पनि टीममा फर्किएका छन् । नेपालको स्पिन आक्रमण नै सबैभन्दा ठूलो शक्ति हुन्छ ।

सन्दीप लामिछाने, ललित राजवंशीजस्ता अनुभवी तथा शेर मल्लजस्ता युवा स्पिनर टीममा छन् ।

साथै कप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल लगायतले पनि चाहिएको बेला स्पिन बलिङ गरेर विकेट निकाल्न सक्छन् ।

फास्ट बलिङमा फेरि करण केसी र सोमपाल कामीको जोडी फर्किएको छ । साथमा हुने छन् नन्दन यादव । यसअघि चोटग्रस्त रहेका यादव कति रिकभर भए भन्ने चाहीँ स्पष्ट भएको छैन ।

गुल्शन झा र आरिफ शेखले पनि मध्यम गतिको बल फ्याँक्न सक्छन् । नेपालको फास्ट बलिङ स्पिनजति प्रभावि भने छैन । बलिया टीमलाई स्तब्ध पार्न स्पिनरले नै दम देखाउनुपर्नेछ ।

नेपालको ब्याटिङ पंक्ति लामो र सन्तुलित छ । आसिफ शेख र कुशल मल्लले नेपालको ओपनिङ गर्नेछन् । उनीहरु दुवै राम्रो फर्ममा छन् ।

मध्यक्रममा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्शन झाजस्ता स्टार ब्याट्सम्यानहरु छन् । मौका पाएको खण्डमा सन्दीप जोराले पनि आफ्नो छाप छोड्न सक्छन् ।

क्वाटरफाइनलमै भेटिनसक्छ भारत

नेपालको पदक आशामा क्रिकेटको महाशक्ति भारत तगारो बन्न सक्ने खतरा देखिन्छ । यो खतरा पन्छाउनलाई नेपालले समूह चरणमा अफगानिस्नताविरुद्ध जित हासिल गर्नुपर्ने छ ।

यदि नेपालले अफगानिस्तान र जापान दुवैलाई हराएर समूह विजेता बन्यो भने क्वाटरफाइनलमा श्रीलंकासँग भिडन्त हुनेछ । श्रीलंका टेस्ट राष्ट्र भए पनि पछिल्लो समय धेरै बलियो मानिँदैन ।

नेपालले श्रीलंकासँग जितको लक्ष्य राखेर खेल्न सक्छ । अर्कोतर्फ जापानसँग जितेर अफगानिस्तानसँग हारे भारतसँग भिड्नु पर्ने छ । टि २० मा भारत अहिले संसारकै खतरनाक टीम हो ।

कथमकदाचित नेपालले क्वाटरफाइनलमा जित हासिल गर्यो भने पनि पदक सुनिश्चित भइहाल्दैन । नेपालले सेमिफाइनलमा जितेको खण्डमा फाइनलमा पुग्नेछ र कम्तिमा रजत पदक प्राप्त हुन्छ ।

यदि सेमिफाइनलमा पराजित भए अर्को सेमिफाइनलमा पराजित हुने टीमसँग कास्यपदकका लागि भिड्नुपर्छ । यदि नेपालले समूहचरणमा अफगानिस्तानलाई हराएको खण्‍डमा पदकको सम्भावना केही प्रतिशत बढ्ने देखिन्छ ।

कस्तो छ जापानको टीम ?

नेपालले जापानलाई सहजै पराजित गर्ने आशा राखेको छ । तर, क्रिकेट अनिश्चितताको खेल हो र यसमा कुनै प्रतिद्वन्द्वीलाई कमजोर आँक्नु मुर्खता हुन सक्छ ।

आइसीसीको टि २० वरियतामा नेपालभन्दा जापान धेरै तल छ । पछिल्लो वरियताक्रममा नेपाल १६ औं स्थानमा छ भने जापान ४१ मा ।

त्यसैले नेपाल जापानभन्दा स्वभाविकरुपमा बलियो टीम हो । तर, यसो भनेर ढुक्क हुन सकिँदैन । तीन दिनअघि भएको मैत्रीपूर्ण म्याचमा जापानले हङकङलाई आच्छु आच्छु बनाएको थियो ।

नेपाललाई भर्खरै भएको एसियन प्रिमियर कपमा हराएको हङकङलाई कडा चुनौति दिएको जापानले नेपाललाई पनि नअत्याउला भन्न सकिन्न । त्यसैले सतर्क हुनु पर्छ ।

विगतको इतिहास र यथार्थ

नेपालले अघिल्ला तीन एसियाडमा क्वाटरफाइनलसम्म मात्र पुगेको थियो । यसपटकको टोली अनुभवी र राम्रो फर्ममा छ ।

तर प्रतियोगितामा सहभागी भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका नेपालभन्दा बलिया टीम हुन् । ठूला टीमहरुलाई नेपालले कठिन चुनौति दिए पनि जित निकाल्न भने सकिरहेको छैन ।

जितको नजिक पुगेर हड्बडाउने गरेको छ ।
यदि नेपालले अफगानिस्तानलाई हराएर राम्रो नेट रन रेट समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुग्यो र त्यहाँ अप्रत्याशित प्रदर्शन गर्‍यो भने पदकको सपना साकार हुन सक्छ ।

नेपाली क्रिकेट प्रेमीहरू अहिले सेप्टेम्बर २५ को अफगानिस्तानविरुद्धको खेललाई विशेष चासोका साथ हेरिरहेका छन् । यो खेल नै नेपालको पदक यात्राको पहिलो ठूलो परीक्षा हुनेछ ।