काठमाडौँको बालाजुमा पार्किङमा राखिएको बसमा आगलागी हुँदा चालक र सहचालक घाइते भएका छन्।
आइतबार राति पौने १० बजेति काठमाडौँ महानगरपालिका-१६ स्थित बुद्ध मल पछाडिको खोला करिडोरमा पार्किङ गरेर राखिएको नारायणी यातायातको बा.३ ख ५०४३ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
आगलागीमा परेर बसका चालक धादिङ ज्वालामुखी गाँउपालिका-३ का ३१ वर्षीय सुरेश अर्याल र सहचालक नीलकण्ठ गाउँपालिका-२ का २३ वर्षीय राजेश परियार घाइते भएका छन्।
बसमा आगलागी हुँदा उनीहरू बसभित्रै रहेकाले आगलागीमा परेका हुन्। घाइतेमध्ये बस चालक सुरेशलाई बढी चोट लागेको छ।
उनीहरूलाई जनमैत्री अस्पताल बालाजुमा सामान्य उपचार गरि राति नै कीर्तिपुर बर्न अस्पताल लगिएको एसपी भट्टराईले बताए।
बसमा लागेको आगो बालाजु औद्योगिक क्षेत्र र टोखा नगरपालिकाको दमकल, स्थानियवासी र प्रहरीको सहयोग सवा १० बजे नियन्त्रणमा लिइएको थियो।
आगलागीको कारण खुलेको छैन। घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।