मधेसमा द्वन्द्व हुन नदिने अमरेश सिंहको दाबी, समाज जोड्न पदयात्रा गर्ने

 संवाददाता    २०८३, ४ आश्विन आईतवार १५:३२     21 जनाले पढ़िसके



Spread the love

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मधेशलाई जात, धर्म, भूगोल वा राजनीतिको नाममा विभाजित गरी द्वन्द्वको मैदान बनाउन नहुने बताएका छन्।

आईतवार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. सिंहले अबको राजनीति समाज जोड्ने, एकता कायम गर्ने र आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताए। उनले मधेस र कोशी प्रदेशलाई ‘ब्याटल ग्राउन्ड’ बनाउन देशभित्र र बाहिरका विभिन्न शक्तिहरू सक्रिय रहेको दाबी गर्दै त्यसबाट मुलुकलाई जोगाउनुपर्ने बताए। ‘हाम्रो अहिलेको बाटो एकताको बाटो हुनुपर्छ, समृद्धिको बाटो हुनुपर्छ,’ सिंहले भने।

उनले छठ पर्वको दिन जनकपुरस्थित गंगासागरमा अर्घ दिएर जानकी मन्दिरको दर्शन गर्ने र त्यसपछि झापाको भद्रपुरबाट मेची–महाकाली पदयात्रा सुरु गर्ने घोषणा गरेका छन्। यात्रा गाडी वा रथमा नभई पैदल हुनेछ। पदयात्राको मुख्य उद्देश्य जनतासँग प्रत्यक्ष संवाद गर्नु र उनीहरूका समस्या सुन्नु रहेको उनले बताए।

‘राजनीति भनेको समाज जोड्नका लागि हो। जात, धर्म, वर्ग र भूगोलका नाममा लडेर हामी कहीँ पनि पुग्न सक्दैनौँ,’ सिंहले भने।

उनले पदयात्राका क्रममा आफूले कम बोल्ने र जनताको कुरा बढी सुन्ने बताए। गाउँ–गाउँ र टोल–टोल पुगेर लामो समय पैदल हिँड्ने तथा स्थानीयसँग प्रत्यक्ष छलफल गर्ने उनको भनाइ छ। उनले मञ्च बनाएर भाषण गर्नेभन्दा दुई सयदेखि चार सय जनाको समूहमा स्थानीयका समस्या सुन्ने योजना रहेको बताए।

पदयात्राका क्रममा युवाको विदेश पलायन, वैदेशिक रोजगारी, किसान तथा मजदूरका समस्या, व्यापारीका समस्या र मधेसको अर्थतन्त्र चलायमान हुन नसक्नुका कारणबारे जनतासँग छलफल गर्ने सिंहले बताए। सीमावर्ती क्षेत्रका नागरिकले भोगिरहेका समस्या पनि यात्राका क्रममा उठाउने उनको भनाइ छ।

सीमापार व्यापार, पारिवारिक तथा सामाजिक सम्बन्ध र सुरक्षाकर्मीबाट सीमावर्ती नागरिकले भोग्नुपरेका समस्याबारे समेत प्रत्यक्ष जानकारी लिने सिंहले बताए। ‘सीमावारीपारीको व्यापार तथा सामाजिक र पारिवारिक सम्बन्धमा कस्तो असर परेको छ भन्ने कुरा पनि सुन्नुपर्छ,’ उनले भने।

मधेसका लागि ‘६ स’को अवधारणा
डा. सिंहले मधेसको विकासका लागि आफूले ‘६ स’लाई प्राथमिकतामा राखेको बताए। उनकाअनुसार ती हुन्– शिक्षा, स्वास्थ्य, सडक, सिंचाई, शान्ति–सुरक्षा र सरसफाई।

मधेसमा सरसफाइको अवस्था सुधार गर्नुपर्ने भन्दै उनले सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्ने, सडकमा दाउरा तथा गोबर राख्ने र घरअगाडि नै पशु बाँध्ने प्रवृत्तिमा सुधार आवश्यक रहेको बताए।

शिक्षा क्षेत्रमा मधेस पछाडि परेको दाबी गर्दै उनले विद्यालयको गुणस्तर सुधारमा पर्याप्त ध्यान दिनुपर्ने बताए। स्वास्थ्य क्षेत्रमा पनि मधेशमा सरकारी रेफरल अस्पताल, मेडिकल कलेज तथा विशेषज्ञ स्वास्थ्य सेवाको अभाव रहेको उनको भनाइ छ।

उनले पछिल्ला वर्षहरूमा मधेसमा धार्मिक तथा साम्प्रदायिक तनाव, जातीय विभाजन र आपराधिक गतिविधि बढेको दाबी गरे। अदालत, जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयमा रहेका मुद्दा र भीडको तथ्यांक अध्ययन गर्नसमेत आग्रह गरे।

उनले राजनीतिक प्रयाससँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताए। ‘हामी जहाँ छौँ, हाम्रो एउटै पहिचान छ, हाम्रो एउटै समाज छ,’ उनले भने।

मधेसको वर्तमान अवस्थाका लागि काठमाडौंलाई मात्र दोष दिएर नहुने भन्दै उनले मधेशका राजनीतिक नेतृत्व र स्थानीय तहले पनि आफ्ना कमजोरीको समीक्षा गर्नुपर्ने बताए। सिंहले भने, ‘हामी मधेसी नेताहरूले पनि सोच्नुपर्छ, हामीले के गल्ती गर्‍यौँ?’

उनले मधेसका नेताहरूले गरेका कामलाई आफूले सम्मान गर्ने तर विगतका कमीकमजोरी पहिचान गरेर सुधार गर्नुपर्ने बताए। ‘कमिसनको आरोपले मधेस बद्नाम हुनुहुँदैन,’ सिंहले भने।