सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नागरिकलाई कठिन परिस्थितिमा समेत निरन्तर सूचना, सञ्चार र सार्वजनिक सेवा उपलब्ध गराउन सक्ने दिगो तथा उत्थानशील डिजिटल प्रणाली आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार आइसिटी फाउन्डेसन नेपालद्वारा आयोजित डिजिटल नेपाल कन्क्लेभमा बोल्दै मन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार र सरकारी सेवाको आधुनिकीकरणमा मात्र सीमित नगरी विपद् तथा सङ्कटका समयमा समेत प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने बताए ।
उनले हालैको भोटेकोशी बाढीले भौतिक पूर्वाधारसँगै नेपालको सूचना प्रणाली, सञ्चार सञ्जाल, संस्थागत समन्वय र राष्ट्रिय तयारीको समेत परीक्षण गरेको बताए ।
सङ्कटका समयमा गलत सूचना र अफवाहले नागरिकमा थप अनिश्चितता सिर्जना गर्न सक्ने भन्दै उनले सूचना प्रणालीलाई विश्वसनीय र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए ।
मन्त्री तिमिल्सिनाले डिजिटल नेपालको आगामी चरणमा सूचना विश्वसनीयता र सार्वजनिक विश्वास, भरपर्दो तथा समावेशी कनेक्टिभिटी, सरकारी निकायबीच अन्तरसञ्चालन क्षमता, नागरिककेन्द्रित डिजिटल सेवा तथा कृत्रिम बौद्धिकता र तथ्याङ्क शासनको जिम्मेवार प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
दुर्गम हिमाली क्षेत्र, ग्रामीण भेग तथा विपद् प्रभावित नागरिकलाई आवश्यक समयमा डिजिटल सेवा र सञ्चारमा पहुँच सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिए ।
डिजिटल रूपान्तरणलाई प्रविधि विकासको परियोजनामा मात्र सीमित नगरी शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्ने भन्दै मन्त्री तिमिल्सिनाले सरकार, निजी क्षेत्र, प्राज्ञिक समुदाय, नवप्रवर्तनकर्ता र नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
भोटेकोशी बाढीको अनुभवले नेपालका डिजिटल प्रणाली सामान्य अवस्थामा मात्र नभई कठिन परिस्थितिमा समेत प्रभावकारी रूपमा सञ्चालन हुनुपर्ने आवश्यकता देखाएको उनको भनाइ थियो ।