दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्योङले आफ्नो देशले होर्मुज जलघाँटीमा सेना तैनाथ नगर्ने स्पष्ट पारेका छन् ।
बीबीसीको फारसी सेवाका अनुसार शुक्रबार राष्ट्रपति लीले दक्षिण कोरियाले कुनै पनि प्रकारको सैन्य तैनाथी नगर्ने, कुनै युद्धमा सहभागी नहुने र युद्धमा संलग्न नहुने बताएका हुन् ।
होर्मुजमा दक्षिण कोरियाली सेना सम्भावित रूपमा तैनाथ गर्ने विषयमा पछिल्ला केही सातादेखि देशभर विरोध प्रदर्शनसमेत हुँदै आएका छन् ।
राष्ट्रपति लीले भने दक्षिण कोरियाले आफ्ना व्यापारिक जहाज र तेल ढुवानीका मार्गको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन् ।
यसअघि करिब दुई साताअघि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले दक्षिण कोरियालाई होर्मुज जलमार्ग र फारसको खाडी क्षेत्रमा सैन्य उपस्थिति वा परिचालनमा सहभागी नहुन चेतावनी दिएका थिए ।
उनले त्यस्तो कुनै पनि परिचालन वा सैन्य उपस्थिति आक्रमणकारीलाई प्रत्यक्ष सहयोग गरेको बराबर हुने र त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।