अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ ले नेपालमा भएको जेन-जी आन्दोलनबारे सार्वजनिक गरेको रिपोर्टलाई सामाजिक सञ्जालमा फैलाएको आरोपमा राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गरिएको छ । उनलाई पक्राउ गर्न एक सातादेखि प्रधानमन्त्रीको सचिवालयले दबाब दिएको प्रहरी स्रोतले बतायो ।
राजनीतिक विमर्शसम्बन्धी कार्यक्रमका निम्ति असोज २ गते मोरङ पुगेका विश्लेषक दाहाल आइतबार मोरङको सुन्दरहरैचा-८, सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट पक्राउ परेका हुन् । उनलाई मोरङ प्रहरीले बुद्ध एयरको बिराटनगर-काठमाडौं उडानबाट काठमाडौं पठाउने तयारी गरेको छ ।
शक्तिकेन्द्रको निरन्तर दबाबपछि प्रहरीको साइबर ब्यूरोले काठमाडौं जिल्ला अदालतमा पक्राउ अनुमति माग गरेको थियो । ब्यूरो स्रोतका अनुसार अदालतबाट पक्राउ अनुमति शुक्रबार नै आएको थियो । कार्यक्रम सिध्याएर उनी आजै विराटनगरबाट काठमाडौं फर्किने तयारीमा थिए । तर, दबाबमा परेको प्रहरीले आइतबार बिहान चिया पिउने ठाउँमै पुगेर उनलाई पक्राउ गरेको हो ।
दाहालले सेप्टेम्बर १२ (भदौ २७ गते) ‘अमेरिकी पत्रिकामा अर्को विस्फोट’ शीर्षक दिएर ‘ग्रे जोन’ को रिपोर्ट शेयर गरेका थिए । उक्त रिपोर्टमा नेपालका केही नयाँ राजनीतिक नेतृत्व, अभियन्ता तथा प्रमुख व्यक्तित्वहरूसँग अमेरिकी सहयोगमा सञ्चालित विभिन्न संघसंस्था र परियोजनाहरूको सम्बन्ध रहेको दाबी गरिएको छ ।
सो सञ्चार संस्थाद्वारा सार्वजनिक भएका केही कागजात वा विवरणमा नेपालका केही चर्चित तथा नयाँ राजनीतिक व्यक्ति र आन्दोलनका अगुवाको नाम विभिन्न नागरिक नेतृत्व वा क्षमता विकाससम्बन्धी कार्यक्रमहरूसँग जोडिएको थियो ।
ग्रे जोनको रिपोर्ट शेयर गर्नुअघि पनि दाहालले सरकारबारे निरन्तर टिप्पणी गर्दै आएका थिए । सामाजिक सञ्जालमा भ्रम एवं अतिरञ्जनापूर्ण प्रस्तुतिका कारण पक्राउ परेको साइबर ब्यूरोका प्रवक्ता एसपी दिलिपकुमार गिरीले बताएका छन् ।