केन्द्रीय समिति बैठकअघि सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दै

 संवाददाता    २०८३, १ आश्विन बिहीबार १३:४४     40 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकअघि सानेपामा पदाधिकारी बैठक बसिरहेको छ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार देउवा समूहबाट छोडेर संस्थापनमा आएका नेताहरूलाई केन्द्रीय सदस्य मनोनित गर्न पदाधिकारी बैठक बसेको हो। अहिलेसम्म देउवा पक्षमा रहेका ४० भन्दा बढी नेताले संस्थापनतिर आउन नाम टिपाएका छन्।

सभापति गगन थापाले केही दिनअघि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट १४औं महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय सदस्य बराबर हैसियत दिने निर्णय गरेका थिए। जसले देउवा पक्षका नेताहरू थापातिर खुल्न थालेका हुन्।

कांग्रेसको आजै केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। पदाधिकारीले मनोनित गरेका सबै केन्द्रीय सदस्य सो बैठकमा सहभागी हुनेछन्।
थापाले असोज ३ गतेदेखि १५औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशनको मिति तय गरेका छन्।

उता, चुनदेवीमा छुट्टै कार्यालय बनाएर देउवा समूहले पनि १५औँ महाधिवेशन थालेको छ। देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन हुनेछ। जसले असोजको १५ गतेदेखि महाधिवेशनको कार्यतालिका तय गरेका छन्।