नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुवै महाविधेशन असुरक्षा, अपमान र घृणा प्रदान गर्ने जनाउँदै त्यस्तो पक्षमा नलाग्ने बताएका छन्।
बिहीबार नेता डा. कोइरालो प्रेस विज्ञप्ति जारी गरी अहिले दुवै पक्षले गर्न खोजेको महाधिवेशनमा आशंका जनाएका छन्। कांग्रेसलाई विभाजन गर्न कसैले चलखेल गरिरहेको उनको आकलन छ।
‘कांग्रेसले कहिल्यै कसैको गोटी भएर देशको स्वाधिनता र लोकतन्त्रसँग सम्झौता गर्न चाहेन। पद, प्रतिष्ठा र प्रलोभनमा नपरी विगतमा हाम्रा संस्थापक नेताहरूले हामीलाई निष्ठा, आदर्श र नैतिक शक्तिसहितको कांग्रेस छाडेर गएका छन्,’ उलने भनेका छन्, ‘यसको इतिहाँस संघर्ष, त्याग र बलिदानले मात्र भरिएको छैन, नेपाललाई आधुनिक राष्ट्र बनाउन र नागरिकको सर्वोच्चता कायम गर्न गरेको कार्य हामी सबैका लागि प्रेरणादायक छ।’
तर, अहिले आएर कांग्रेसको पटकथा अन्तै लेखिएको उनले आशंका गरेका छन्। ‘दुःखका साथ भन्नुपर्छ यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन मलाई थाहा छैन,’ कोइरालाले भनेका छन्, ‘मलाई यसबाट पीडा छ र मेरो पीडासँग तमाम कार्यकर्ता साथीहरुको भावना जोडिएको छ, जो कांग्रेस एकढिक्का भएर राष्ट्र निर्माणमा यो पार्टीको नेतृत्वदायी भूमिका होस भन्ने चाहन्छन्।’
कांग्रेसका कुनै कार्यकर्ता हार्ने र कुनै जित्ने खेलमा नलाग्ने उनले जनाएका छन्। अहिले दुवै महाधिवेशनका कारण कांग्रेसका कार्यकर्ता हार्ने र जित्ने खेलमा विभाजन हुने उनको भनाइ छ।
‘म कांग्रेस विभाजनबाट रोमाञ्चित हुनै सक्दिन। म को ठिक, को बेठिक, भनेर वकालत कसरी गर्न सक्छु? कांग्रेस हुँ भन्ने तर आफ्नै साथीभाई माथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महल माथि म बस्न सक्दिनँ,’ कोइरालाले भनेका छन्, ‘कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनी विजयी कांग्रेस हुँ भनेर कसरी उत्सव मनाउन सकिन्छ होला? यो कांग्रेसको संस्कार र संस्कृति भन्दा भिन्न कुरा हो, मेरो चेतनाको कांग्रेस पाठशाला पृथक छ।’
उनले आफूलाई मध्यमार्गमा हिडाउने बताएका छन्। त्यही मध्यमार्गबाट कांग्रेसलाई एकजुट बनाउने प्रयास गर्ने जनाएका छन्।
‘मलाई थाहा छ मध्यमार्ग कठिन मार्ग हो, मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो। यही मार्ग कांग्रेसको मार्ग हो, र यही मार्ग कांग्रेसको जीवन दर्शन हो,’ कोइरालाले भनेका छन्, ‘म आरोपित भएर, भइरहेको पनि छुु, कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्ने कांग्रेस सिपाही हुँ।’


