करदाता प्रोत्साहन उपहार: भदौ ७ का विजेताले एक लाख नपाउने

 संवाददाता    २०८३, १ आश्विन बिहीबार १६:०७     32 जनाले पढ़िसके



Spread the love

सरकारले करदाता प्रोत्साहन उपहार योजना अन्तर्गत उपहार परेका भदौ ७ गतेका ग्राहकले एक लाख रुपैयाँ उपहार नपाउने भएका छन्।
सरकारले हरेक १५ दिनको खरिद कर्ताहरूको विललाई कुपन बनाएर उपहार घोषणा गर्दै आएको छ।

तर, भदौ ७ गतेको लागि भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम उपलब्ध गराएको व्यक्ति उपहारका लागि छनौट भएका छन्।

कुपन नम्बर ०४२ ६१८ ४७७ ६२० ले भदौ ७ गतेका लागि एक लाख रुपैयाँ उपहार जितेका थिए। उनले त्यसदिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक हजार रुपैयाँ क्यूआरमार्फत उपलब्ध गराएको आन्तरिक राजश्व विभागले बताएको छ।

तर, करदाता प्रोत्साहन उपहार कार्यक्रमको कार्यविधिले भने त्यसरी राहत कोषमा रकम उपलब्ध गराउने व्यक्ति उपहार कार्यक्रममा योग्य हुने भनेको छैन। सोही कारण भदौ ७ गतेका लागि छनौटमा परेका विजेताले उपहार रकम नपाउने आन्तरिक राजश्व विभागका सूचना प्रविधि निर्देशक थानेश्वर पनेरुले बताए।

उनले भने, ‘क्यूआरबाट भुक्तानी गर्दा मर्चेन्ट क्याटगोरी कोड (एमसीसी) आएको हुन्छ। सोही आधारमा लक्की ड्रमा छानिने हो। भदौ ७ गतेको लागि परेको त्यो कोड गलत रहेछ। हामीले सिस्टममा सुधार गर्न भनिसकेका छौँ।’

एमसीसी कोड भनेको उपभोक्ताले कारोबार गरिएको कम्पनी वा प्रतिष्ठान पत्ता लगाउने कोड हो।

उक्त कारोबार ७ गतेकै भएको तर कोड गलत हुँदा उपहार कार्यक्रममा योग्य नहुने कारोबार पनि छनौट हुन पुगेको पनेरुले बताए।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष पहिलेदेखि नै थियो। तर, भदौ १० मा भोटेकोसी नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएपछि सरकारले उक्त कोषमा रकम सहयोग गर्न भनेको थियो। त्यसपछि धेरै स्वैच्छिक रुपमा कोषमा क्यूआर मार्फत रकम उपलब्ध गराएका थिए।

व्यापक रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम उपलब्ध गराउने अभियान अघि (भदौ ७)मा उक्त कोषमा एक हजार रुपैयाँ उपलब्ध भएको थियो वा पछिको कारोबार नै भदौ ७ को लागि कोड बन्यो भन्ने चाहिँ स्पष्ट रुपमा खुलेको छैन।

विभागका अधिकारीहरुले भने उक्त कारोबार भदौ ७ कै भएको दाबी गरेका छन्।

रद्द भएको उपहार विजेताको पैसा प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा दाखिला हुने व्यवस्था छ। उपहार जितेर पनि लिन नआउने र प्रमाण नपुगेर विवादमा परेकाको हकमा पनि सोहो व्यवस्था छ।