चिलिमे उद्धारमा आशाको संकेत: सुरुङबाट चिसो हावा बाहिरियो

 संवाददाता    २०८३, २५ भाद्र बिहीबार १२:४१     51 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदसमेत रहेका इन्जिनियर श्रीराम न्यौपानले चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्रबाट बाहिर चिसो हावा आएको र भित्र आवाज गएको जानकारी प्राप्त भएको बताएका छन्।

उनले केही बेरअघि नेपाली सेनाको उद्धार टोलीबाट प्राप्त जानकारीअनुसार करिब १०५ मिटर भित्रबाट बाहिरपट्टि चिसो हावा आएको र हावा दोहोरो बहाब भएको पाइएको बताएका हुन्।

उनले अगाडि भनेका छन्, ‘भित्र आवाज गएको र इको आएको जानकारी प्राप्त भएको छ।’

यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा कर्मचारी तथा मजदुर फसेको आशंकामा नेपाली तथा विदेशी विज्ञसहितको टोलीले खोज तथा उद्धार प्रयास गरिरहेको छ।

त्यसका लागि जलविद्युत् गृहभित्रको लेदो फाल्ने क्रम जारी छ भने स्याफ्रुबेँसीदेखि चिलिमे विद्युत्‌गृह पोर्टलसम्म सडक निर्माणलाई तीव्रता दिइएको छ।

यसका लागि आवश्यक थप अपरेटर र मेसिन स्पेयसपार्टसको व्यवस्था गरिएको छ।

सडक खुलाउन आवश्यक परेको स्थानमा विस्फोटक पदार्थ प्रयोग गर्ने तयारी पनि छ।

धुन्चेतिरको बिजुलीलाई चिलिमेको विद्युत्‌गृहसम्म पुर्‍याउने पाइलट वायर जोडिएको छ। ड्रोनमार्फत पाइलट वायर जोडिएको छ।

यससँगै धुन्चेको एबीसी केबुलबाट स्याफ्रुसम्म हेलिकप्टरमार्फत ढुवानी गर्ने प्रबन्ध मिलाइएको छ।

खोज तथा उद्धार टोली सुरुङ छिचोलेर विद्युत्‌गृहभित्र छिर्ने प्रयासमा छ।

यसका लागि नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख एवं पूर्वऊर्जामन्त्री कुलमान घिसिङ पनि खटिएका छन्।

विद्युत्‌गृहसम्म पुग्न करिब दुई सय मिटर बाँकी रहेको जनाइएको छ। विद्युत्‌गृह करिब ६० मिटर लामो, २५ मिटर उचाइ र २० मिटर चौडाइको छ।

विद्युत्‌गृहको माथिल्लो भागमा चामल, पानी, चिनी, चिया तथा ठूलो ब्याट्री बैंक (पर्याप्त बत्ती हुने) लगायत आवश्यक खाद्य सामग्री छन्।

विद्युत्‌गृहमा ६ जना रहेको आकलन गरिएको छ। उनीहरूको खोज तथा उद्धारका लागि नेपाली र विदेशी टोली खटिइरहेका छन्।