शेरधन भन्छन्– घण्टी ओरालो लाग्यो, राजनीतिक चेतना नभएकाहरू माटोतिर

 संवाददाता    २०८३, २५ भाद्र बिहीबार १३:१३     23 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका सचिव एवं पूर्वमुख्यमन्त्री शेरधन राईले बालेन सरकारकै कामकारबाहीका कारण रास्वपामा भोट हालेका मान्छेले पश्चाताप गर्न थालेको जिकिर गरेका छन् ।

बुधबार सुनसरीमा आयोजित पार्टीको मिसन जागरण अभियानमा बोल्दै उनले भने- ‘धेरै वटा जिल्लाहरूमा हामीले कुरा सुन्दै आइराखेका छौँ। घण्टी पूरै ओरालो छ। घण्टी प्रतिको आकर्षण कहिँकतै पनि छैन । मान्छेले पश्चात्ताप गरिराखेका छन् अहिलेको सरकारको कामकारबाहीको कारणले ।’

रास्वपाको लोकप्रियता घट्दै गए पनि आउने चुनावमा भने हर्क साम्पाङको श्रम संस्कृति पार्टीले निकै अप्ठ्यारो पार्ने देखिएको उनको प्रक्षेपण छ । तर, ‘माटो’ मा राजनीतिक चेतना कमजोर भएका र जातीय अतिवादी भावना बोकिरहेकाहरू लागेको शेरधनको टिप्पणी छ । राजनीतिक पृष्ठभूमि र कुनै राजनीतिक, वैचारिक, सैद्धान्तिक उद्देश्य र गन्तव्य नभएका मान्छेहरू श्रम संस्कृतिमा रहेको उनले दाबी गरे ।

यसबीचमा दलहरू थुप्रै खोलिएको र त्यसलाई आफूहरूले हेरेको भन्दै राईले फेरि पनि जनताको आवाज सुन्ने, जनताको भावना बुझ्ने, सबै वर्ग, सबै जाति, सबै तह र तप्काका समुदायहरूको नेतृत्व गर्ने पार्टी नेकपा एमालेमात्रै रहेको बताएका छन् ।

राईको भनाइ जस्ताको तस्तै

यो माटोले चाहिँ हैरान दिने भो, आउने चुनावसम्म । जब्बरजस्त मान्छे लागिराखेका छन् । राजनीतिक चेतना कमजोर भएका मान्छेहरू, जनजातिहरू डल्लै त्यता लागिराखेका छन् । हामीलाई आउने चुनावमा निकै नै अप्ठ्यारो पार्ने भो, सबै जिल्लामा हामीले सुन्यौँ । यो सत्य कुरा हो । राजनीतिक चेतना असाध्यै कमजोर भएका मान्छेहरू अनि जातिवादी भावना बोकेकाहरू, बाहिर विदेशमा बसेका मान्छेहरू जो एउटा सेन्टिमेन्टमा बहकिराखेका छन्, उनीहरूले डोनेसन गरिराखेका छन्, उनीहरूको साथ पाइराखेको छ ।

केही मान्छेहरूको बाध्यता छ । घरमा जग्गा बाँझो छ, अँगेनामा दाउरा छैन, चुलो बल्दैन। मान्छे अल्छी छ, बेरोजगार छ, केही छैन हैसियत। कम्तीमा हर्क साम्पाङको पछि लाग्दा, उनले आह्वान गरेको श्रममा भाग लिँदा त्यहाँ खाजा पनि रेगुलर हुन्छ, त्यहाँ भात पनि रेगुलर हुन्छ, त्यहाँ पकेट मनी पनि रेगुलर हुन्छ, त्यहाँ रमाइलो पनि हुन्छ। हर्क साम्पाङलाई कसरी छोड्छ मान्छेले ? हर्क साम्पाङलाई छोड्नेवाला छैन त्यो पङ्क्तिले।

अर्को पङ्क्ति, एमाले-काङ्ग्रेस पुरै धक्का खाएको अवस्थामा छ । टिकट पाउन पनि मुस्किल छ एमाले र काङ्ग्रेसमा । मारामार छ, मान्छेहरूको लाइन नै छ। हर्क साम्पाङको पछि लाग्दा टिकट पनि पाइहालिने, चुनाव पनि जितिहालिने फ्याट-फ्याट त्यसै टिकट पाउनबित्तिकै भइराखेका छन् । मान्छेहरूमा त्यो अवसरवादी मानसिकता जागेर, त्यो लोभ जागेर हर्क साम्पाङको चाकडी गर्न एउटा अवसरवादी पङ्क्ति त्यहाँ लागेको छ ।