देउवासँग भेटका लागि गगनको पहल, देउवा भने अनिच्छुक

 संवाददाता    २०८३, ८ भाद्र सोमबार १२:५५     35 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई भेट्न समय मागेका छन्।

सभापति थापाले देउवाका स्वकीय सचिव भानु देउवालाई फोन गरेर सभापति देउवालाई भेट्ने समय मिलाइदिन आग्रह गरेका हुन्। देउवा हङकङबाट फर्किएको दुई साता पुग्न लाग्दासमेत भेटवार्ता हुन सकेको छैन।

हङकङबाट फर्किएका देउवा गगनलाई सभापति अस्वीकार गर्दै चुनदेवीमा सभापतिकै हैसियतमा नेमप्लेट राखेर बसिरहेका छन्। तर पार्टीभित्रको विवाद मिलाउने उद्देश्यले सभापति थापाले देउवासँग भेटको समय मागेको महामन्त्री प्रदीप पौडेलले बताए।

उनले भने, ‘उहाँले सार्वजनिक रूपमै पनि भनिसक्नुभएको छ। सचिवालयलाई फोन गरेर भेटको व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको हो। उताबाटै कुनै जवाफ आएको छैन।’

उनले पार्टी बैठकबाटै पूर्वसभापति देउवाको स्वास्थ्य लाभको कामना आफूहरूले गरिसकेको समेत बताए।

आफूनिकट नेताहरूसँग दिनहुँ निवास र चुनदेवीमा पुगेर भेटिरहेका देउवा विशेष महाधिवेशनबाट आएका पदाधिकारीसँग भेट्न अनिच्छुक छन्।

भेट आग्रह गर्ने नेताहरूलाई समय मिलाएर भेट्ने जवाफ दिँदै आइरहेका छन्। तर देउवा सर्वोच्च अदालतबाट आधिकारिकता सम्बन्धी मुद्दाको छिनोफानो नभएसम्म भेट नगर्ने मुडमा रहेका नेताहरू बताउँछन्।

गगनले अघि सारेको महाधिवेशनको कार्यतालिका रोक्न समेत देउवा सर्वोच्च धाइरहेका छन्।