नेपालबाट टाढिँदै मनसुनको रेखा, मौसममा देखिँदै परिवर्तन

 संवाददाता    २०८३, ७ भाद्र आईतवार १०:४८     44 जनाले पढ़िसके



Spread the love

जल तथा मौसम विज्ञान विभागअन्तर्गको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास छ। यसको अर्थ शनिबार नेपालको नजिक देखिएको न्यूनचापीय रेखा अहिले टाढा भएको छ। यो रेखा नजिक हुँदा वर्षाको सम्भावना बढ्छ भने टाढा हुँदा घट्छ।

मौसम महाशाखाले आज (आइतबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार हाल देशभरको आकाशमा आंशिकदेखि साधारणतया बादल लागेको छ। यसको अर्थ बादल र घाम दुवै देखिएका छन्। तत्काल कतै वर्षा छैन।

दिउँसो भने देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। पहाडी भूभागका पनि धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। अनि तराईका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ।

मौसम महाशाखाको आकलनअनुसार आज राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसमविद्लाई प्रश्न: आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना कति प्रतिशत छ

काठमाडौँ उपत्यकामा आज (आइतबार) हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

मौसम महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार उपत्यकामा विशेषगरी अपराह्न/साँझपख पानी पर्ने सम्भावना छ।

‘दिउँसो २/३ पछि बादल बढ्दै जाने र विशेषगरी साँझपख हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ’, उनले भनिन्।

त्यसअघि भने काठमाडौँ उपत्यकाको मौसम घाम-बादल, घाम-बादलको अवस्थामा रहने देखिएको उनको भनाइ छ।

मौसमविद् महर्जनका अनुसार आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना ६० प्रतिशत देखिएको छ।