अमेरिकी प्रविधि कम्पनी स्पेसएक्सको स्टारलिंकले यस साता नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सञ्चार सेवामा सहयोग गर्न तयार रहेको जनाएको छ।
स्टारलिंकले सामाजिक सञ्जालमार्फत नेपालको बाढी तथा चीनको तिब्बत सीमा क्षेत्रमा भएको विपत्तिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र मानवीय सहायता साझेदार संस्थालाई आवश्यक सहयोग गर्न स्टारलिंकका उपकरण पठाउन तथा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन आफू तयार रहेको जनाएको हो।
‘यस साताको विनाशकारी बाढीपछि नेपाल र तिब्बत सीमा क्षेत्रका जनताप्रति हाम्रो साथ र सहानुभूति छ,’ स्टारलिंकले भनेको छ।
कम्पनीका अनुसार नेपाल सरकारबाट अनुमति प्राप्त हुनासाथ आवश्यक स्टारलिंक किटहरू पठाएर निःशुल्क सञ्चार सेवा उपलब्ध गराउन आफू तयार छ।
सडक, पुल र मोबाइल सञ्चार सञ्जालसमेत क्षतिग्रस्त भएको अवस्थामा विपद् उद्धार तथा राहतका लागि सञ्चार सेवा अत्यन्त महत्वपूर्ण हुने स्टारलिंकले जनाएको छ। कम्पनीका अनुसार यस्तो अवस्थामा स्टारलिंकको इन्टरनेटले उद्धार टोलीलाई खोज तथा उद्धार अभियान समन्वय गर्न, स्वास्थ्यकर्मीलाई घाइतेको उपचारमा सहयोग गर्न तथा बेपत्ता आफन्तसँग परिवारलाई सम्पर्क स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ।
स्टारलिंकका अनुसार विद्युत् वा अन्य उपयुक्त ऊर्जा स्रोत तथा आकाशको स्पष्ट दृश्य उपलब्ध भएमा स्टारलिंक किट खोलेको केही मिनेटमै उच्च गतिको र न्यून विलम्बता (low-latency) भएको इन्टरनेट सेवा सञ्चालन गर्न सकिन्छ।
बाढी तथा पहिरोका कारण नेपालका विभिन्न क्षेत्रमा सडक, पुल र परम्परागत सञ्चार पूर्वाधारमा क्षति पुगेका बेला स्टारलिंकको यस्तो प्रस्तावले विपद्को समयमा वैकल्पिक सञ्चार प्रणालीको आवश्यकता र सम्भावनाबारे समेत ध्यानाकर्षण गराएको छ।
स्टारलिंकले भने नेपाल सरकारबाट अनुमति प्राप्त भएपछि मात्रै आफ्नो उद्धार तथा सञ्चार सहयोग अघि बढाउने स्पष्ट पारेको छ।
