बाढीको असर: कृष्णभीरको सडक भासिएर पैदल आवागमनसमेत रोकियो

 संवाददाता    २०८३, १४ भाद्र आईतवार १५:४८     11 जनाले पढ़िसके



Spread the love

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा सडक भासिएपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।

आइतबार बाढीले ठूलो क्षेत्रमा कटान गरेपछि सडक भासिएको हो। सडकको केही भाग नदीतर्फ बगेर गएपछि अहिले पैदल यात्रु हिड्नसमेत कठिन भएको छ।

भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था रहेको छैन। जसले गर्दा पृथ्वी राजमार्गको उक्त खण्डमा आवागमन प्रभावित भएको छ।

सडक भासिएको स्थानमा थप कटानको जोखिमसमेत रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। सडकको अवस्था बिग्रिएसँगै राजमार्गमा सवारीसाधन रोकिएका छन् भने यात्रुहरू गन्तव्यसम्म पुग्न समस्या भएको छ।

त्रिशूली नदीमा आएको बाढीले यसअघि पनि पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान तथा क्षति पुर्‍याएको थियो। पछिल्लो समय कृष्णभीरमा समेत सडक भासिएपछि काठमाडौँ-चितवन हुँदै पूर्व-पश्चिम आवतजावत गर्ने यात्रु थप प्रभावित भएका छन्।

सडकको ठूलो भाग नै भासिएकाले तत्कालै नियमित यातायात सञ्चालन गर्न चुनौती देखिएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ।