त्रिशूली–३ एमा उद्धार अभियान तीव्र, टनेलभित्र पस्न सेना ब्लास्टिङको तयारीमा

 संवाददाता    २०८३, १४ भाद्र आईतवार १६:०४     18 जनाले पढ़िसके



Spread the love

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल आउटलेट टनेलबाट सुरुङभित्र प्रवेश गरी उद्धार कार्य अघि बढाउने प्रयास भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिकसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी तथा उद्धारकर्मीको टोली घटनास्थलमा खटिएका छन्। सुरुङभित्र प्रवेशका लागि अवरोध बनेको संरचना हटाउने काम भएको छ।

उद्धार टोलीले सुरुङको क्राउन (माथिल्लो भाग) भेटिएको र त्यसलाई एक्साभेटर प्रयोग गरेर फुटाई खुलाउने कार्य अघि बढाएको ऊर्जा मन्त्रालयले जनाएको छ। अवरोध हटाएर सुरुङमा सुरक्षित प्रवेशको अवस्था तयार भएपछि उद्धारकर्तालाई भित्र पठाउने तयारी भइरहेको बताइएको छ।

भदौ १२ गतेदेखि अस्थायी रूपमा बसेको विशेषज्ञ सहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाईड्रोलिक कटर लगायतका सामग्रीको प्रयोग गरी क्राउनहेड फेला पार्न सफल भएको छ। नेपाली सेनाका अनुसार होलबाट अवलोकन गर्दा ७ मिटरको डाइमिटरमा धेरै माथीसम्म पानीको सतह देखिएको जनाएको छ।

यस आयोजनाबाट बाढीपछि ४२ जना सम्पर्कविहीन छन्।

ब्लास्टिङ गर्ने तयारी
आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाइएको छ।

प्राप्त पछिल्लो जानकारी अनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको संयुक्त टोली खटिएको छ।

​यसअघि टोलीले दिउँसो २ बजे सुरङको मुख्य भाग (क्राउन हेड) मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले (र्‍यापेल गरेर) टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ।

​उद्धार टोली कठिन र जोखिमपूर्ण परिस्थितिका बाबजुद अहोरात्र खटिरहेको छ।

ऊर्जा मन्त्रालयका अनुसार टनेल पोर्टसम्म उद्धार टोली पुगिसकेको छ। अहिले पोर्टको मुख सफा गर्ने काम भइरहेको छ।

पोर्ट सफा गरेपछि अक्सिजनसहित उद्धारकर्मीलाई टनेलभित्र पठाउने तयारी भइरहेको छ।

उद्धारकर्मीले भित्रको अवस्था प्रत्यक्ष रूपमा निरीक्षण गर्दै अगाडि बढ्नेछन्।

उद्धारकर्मीसँग क्यामरा पनि पठाइनेछ, जसबाट भित्रको वास्तविक अवस्था बाहिरबाट हेर्न सकिनेछ।

पोर्टबाट करिब १८० मिटर अगाडि गएपछि सम्भावित वर्किङ स्पेससम्म पुग्न सकिने अनुमान छ। त्यहाँ पुगेपछि भित्र फसेका व्यक्तिहरूको वास्तविक अवस्था, स्थान र सुरक्षाको स्थिति बारे थप स्पष्ट जानकारी प्राप्त हुनेछ।