नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जबरजस्ती तरिकाले विशेष महाधिवेशन गरेर अन्यायपूर्ण तरिकाले धेरै साथीलाई बाहिर राखिएको आरोप लगाएका छन्।
कांग्रेस संस्थापन इतर पक्षद्वारा काठमाडौँमा आयोजित राष्ट्रिय भेलाको समापन समारोहमा आइतबार पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले पार्टी आधिकारिता विवादमा अदालतबाट आउने निर्णय मान्ने बताए।
‘मैले विशेष महाधिवेशन गर्न मानेको थिइनँ। मैले भनेको थिएँ- पार्टीका सबैको सहमतिले विशेष महाधिवेशन गरौं यसरी नगरौँ भनेर। जबरजस्ती तरिकाले विशेष महाधिवेशन गरेर अन्यायपूर्ण तरिकाले धेरै साथीलाई बाहिर राखियो। त्यसको खिलापमा हामीहरू अदालत गयौँ’ उनले भने।
अदालतबाट पूर्ण निर्णय आउन बाँकी रहेको उल्लेख गर्दै देउवाले न्याय पाउने विश्वास पनि व्यक्त गरे।
‘मलाई विश्वास छ- अदालतको पूर्ण निर्णय आउन बाँकी छ। त्यसअघि मैले धेरै अदालतको विषयमा धेरै बोल्नु छैन। तर, मलाई विश्वास छ- मैले न्याय पाउँछु’, देउवाले भने।
न्यायलयले पटकपटक आफूलाई न्याय दिएको उनको भनाइ छ।
‘सर्वोच्च अदालतदेखि सबै न्यायलयले हिजोदेखि हामीलाई न्याय दिएको हो। राजाले थुन्दा पनि शाही आयोगलाई खारेज गरेको हो, पञ्चायतले पनि मलाई थुनेको थियो,’ देउवाले भने, ‘अहिले पनि न्यायालयले मलाई बचाएको छ, जसको कारणले म नेपालमा आइपुगेको छु।’