‘समस्या समाधानभन्दा प्रचारबाजीमा सरकार केन्द्रित भयो’– ग्यास विक्रेता महासंघ

 संवाददाता    २०८३, ३१ श्रावण आईतवार १५:२२     20 जनाले पढ़िसके



Spread the love

ग्यास बिक्रेता महासंघले लामो समयदेखि खाना पकाउने ग्यासको चरम अभावप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ ।

महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकारका अन्य निकायहरू समस्या समाधान गर्नुको साटो ‘अनावश्यक प्रचारबाजी’ मा लागेको दाबी गरेको छ ।

विगत ४ महिनामा करिब ६० हजार मेट्रिक टन ग्यास कम आयात गरिएको भन्दै महासंघले आयातमा आएको यो ठूलो गिरावटले नै बजारमा अभाव सिर्जना गरेको जनाएको छ । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा हस्ताक्षरित विज्ञप्ति विज्ञप्तिमा उल्लेख भए अनुसार हाल बजारमा आवश्यकताभन्दा बढी अर्थात् करिब ८० लाख सिलिन्डर छरिएका छन् ।

यति ठूलो संख्यामा सिलिन्डर हुँदाहुँदै पनि नयाँ सिलिन्डर बिक्री गर्ने कार्य नरोकिएकाले आगामी वर्ष यो समस्या थप जटिल बन्ने निश्चित रहेको महासंघले चेतावनी दिएको छ।

ग्यासको अभाव हुनुको अर्को मुख्य कारण उद्योग र विभिन्न बिक्री केन्द्रहरूले सीधै ग्यास बिक्री गर्नु रहेको महासंघको आरोप छ । वितरण च्यानल (बिक्रेताहरू) मार्फत ग्यास बिक्री नगरी सरकार उद्योग र बिक्री केन्द्रका नामबाट आफैँले बेच्दा गर्दा अभाव थप जटिल बनेको महासंघले जनाएको छ ।

अनुगमनका नाममा आम बिक्रेताहरूलाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै महासंघले यसलाई ‘सरकारी रवैया’भनेको छ ।

महासंघले ग्यास उद्योग र विभिन्न नामका बिक्री केन्द्रहरूबाट बिक्री तत्काल बन्द गर्नुपर्ने, डिलरमार्फत मात्रै बिक्री वितरण सहज गर्नुपर्ने, अनुगमनका नाममा बिक्रेतालाई दुःख दिने कार्य बन्द गर्नुपर्ने लगायतका माग राखेको छ ।