प्रधानमन्त्री वालेन्द्र शाहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) का लागि टर्कीबाट निमन्त्रणा आएको छ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागिताका लागि प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको बताए। ढकालका अनुसार, कोपमा सहभागिताका लागि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमत्री शाहलाई निमन्त्रणा पठाएका हुन्।
‘कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ। टर्कीका सम्माननीय राष्ट्रपतिज्यूबाट निमन्त्रणा प्राप्त भएको हो,’ उनले भने।
परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको उनले जानकारी दिए। यद्यपि कुन तहबाट सहभागिता हुने भन्नेबारे जानकारी प्राप्त भइनसकेको उनको भनाइ छ।
‘त्यो निमन्त्रणा हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेका छौं। कुन लेभलबाट सहभागिता हुने भन्ने विषय हामीलाई जानकारी हुन बाँकी नै छ, हामी त्यसको प्रतिक्षामा छौं,’ उनले भने।
कोप-३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुँदै छ। नेपाल सरकारले सम्मेलनमा जलवायु न्याय, हानि नोक्शानीको क्षतिपूर्ति र पर्वतीय मुद्दालाई सशक्त रुपमा उठाउने तयारी गरेको छ।