भारतीय राज्य पश्चिम बंगालका पूर्वमन्त्री तथा विधानसभाका पूर्वउपाध्यक्ष आशिष बनर्जी आइतबार बिहान पार्टी कार्यालयमै मृत भेटिएका छन्।
तृणमूल कंग्रेसका नेता आशिष पूर्वमुख्यमन्त्री ममता बनर्जीनिकट मानिन्थ्यो।
बीबीसी हिन्दीका अनुसार आशिषको निवासनजिकै रहेको पार्टी कार्यालयमा उनको शव फेला परेको हो।
उनी पश्चिम बंगालको वीरभूम जिल्लाको रामपुरहाट निर्वाचन क्षेत्रबाट पाँच कार्यकालसम्म विधायक बनेका थिए।
एक वरिष्ठ प्रहरी अधिकारीले उनको शव उनको कोठामा फेला परेको बताए। मृत्युको कारण हाल अनुसन्धान भइरहेको छ।
प्रहरी स्रोतले शवनजिकै एउटा सुसाइड नोट फेला परेको बताएको छ।
तर अधिकारीहरूले थप विवरण दिन अस्वीकार गरेका छन्। शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।
सन् २००१ देखि यस निर्वाचन क्षेत्रबाट लगातार चुनाव जितिरहेका आशिष यस वर्ष भने भाजपा उम्मेदवार ध्रुव साहासँग हारेका थिए।
आशिष बनर्जीले ममता बनर्जी सरकारमा स्कुल शिक्षा र कृषि मन्त्री रूपमा काम गरेका थिए। २०२१ मा उनी विधानसभाको उपाध्यक्ष थिए।
बर्दवान विश्वविद्यालयबाट बंगालीमा विद्यावारिधि पूरा गरेपछि आशिषले रामपुरहाट कलेजमा शिक्षकका रूपमा करियर सुरु गरेका थिए। तर पछि उनी राजनीतिमा प्रवेश गरेका थिए। उनलाई ममता बनर्जीको नजिकको नेता मानिन्थ्यो।