तीन इरानी पाइलटलाई कतारले नियन्त्रणमा लिएको इरानको दाबी

 संवाददाता    २०८३, ३१ श्रावण आईतवार १२:३७     20 जनाले पढ़िसके



Spread the love

इरानको सशस्त्र बलका जनरल स्टाफका बेपत्ता व्यक्तिहरूको खोजी समितिका प्रमुखले तीन इरानी पाइलट कतारको हिरासतमा रहेको दाबी गरेका छन्।

उनले रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईआरए) लाई उनीहरूको स्थिति स्पष्ट पार्न सहयोगका लागि अपिल पनि गरेका छन्।

इरानी सञ्चारमाध्यमका अनुसार ब्रिगेडियर जनरल मोहम्मद बाकरजादेहले आईसीआरएका अध्यक्ष मारियाना स्पोल्यारिकलाई लेखेको पत्रमा मार्च २ मा कतारमा रहेको ‘शत्रु सैन्य अड्डा’मा हमला गर्न दुई सुखोई-२४ लडाकु विमान पठाइएको उल्लेख गरेका छन्।

उनका अनुसार मिसन पूरा गरेर फर्कने क्रममा विमान शत्रुको आक्रमणमा परेका थिए। जसमा चार इरानी पाइलटको मृत्यु भयो।

चार पाइलटमध्ये एक माजिद काजेमीको शव पछि इरान ल्याइएको थियो र अगस्ट २९ मा सिराजमा अन्त्येष्टि गरिएको थियो।

ब्रिगेडियर जनरल बाकरजादेहले दाबी गरेका छन्, ‘बाँकी तीन पाइलट- जावाद सालेही, अब्दुलमाजिद दस्तियन र इमरान बहरुसियानलाई भने कतारी सेनाले नियन्त्रणमा राखेको छ।’

कतारले के भन्यो

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल-अन्सारीले भने इरानको दाबी अस्वीकार गरेका छन्।

विदेश मन्त्रालयका प्रवक्ताले क्षेत्रमा तनाव कम गर्न कूटनीतिक प्रयास भइरहेका बेला ‘यस्ता भ्रामक कुरा’ सुनेर छक्क परेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल प्लाटफर्म एक्समा जारी विज्ञप्तिमा माजिद अल-अन्सारीले मार्चमा कतारी हवाई क्षेत्रको उल्लंघनपछि आफूले इरानी पाइलटहरूलाई सम्पर्क गरेको र उनीहरूको उडान मार्ग पुष्टि गरेको उल्लेख गरेका छन्।

उनका अनुसार, जब पाइलटहरूले सन्देशको जवाफ दिएनन्, तब कतारले ‘द्वन्द्वका नियम र अन्तर्राष्ट्रिय कानुनअनुसार’ आत्मरक्षाको कारबाही गर्‍यो।

उनका अनुसार ‘यसपछि कतारी उद्धार टोलीले पाइलटहरू पत्ता लगाउन खोजी अभियान सुरु गरे। यस क्रममा एक पाइलटको शव भेटिएको छ र यो इरानलाई सुम्पन तेहरानलाई सम्पर्क गरेको छ।’